• ७ वैशाख २०८१, शुक्रबार

नयाँ घर पाएपछि पूर्णकुमारी हर्षित

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, माघ २२ गते । अर्जुनचौपारी–४, रापाकोट दमाई गाउँकी ७१ वर्षीया पूर्णकुमारी विकले नयाँ घर पाउनुभएको छ। वर्षांैदेखि खरले छाएको चुहिने घरमा बस्दै आउनुभएकी विकलाई दलित उत्थान केन्द्रले घर बनाइदिएको हो। 

सो केन्द्रले पुरानो घरलाई मर्मत गरी तथा घरसँगै शौचालय, बिजुली बत्तीसहितको नयाँ घर बनाइदिएको हो। एकल महिला विक खर तथा त्रिपालले छाएको चुहिने घरमा बसेको समाचार आएपछि घर बनाइदिएको केन्द्रका अध्यक्ष दीपक सुनारले बताउनुभयो। 

सो केन्द्र स्थापनाको अवसरसँगै मङ्सिर १६ गते विधिवत् रूपमा दर्ता भएपछि नयाँ कामको थालनी घर निर्माणबाट गरिएको सुनारले बताउनुभयो। वृद्धा विकलाई घरसँगै सुत्ने खाट, लगाउने न्यानो कपडा र बिस्तारासमेत प्रदान गरिएको छ। 

करिब ३९ वर्षपहिला श्रीमान्को निधनपछि एकल जीवन बिताउँदै आएकी विकका छोरा भारत गएको बताइएको छ। छोरासमेत नियमित सम्पर्कमा नआएपछि उहाँ कष्टकर जीवन बिताउँदै आउनुभएको थियो। बर्सातमा छिमेकीको घरमा सुतेको स्मरण गर्दै विकले भन्नुभयो, “घर बनेको ठाउँबाहेक जग्गासमेत मसँग छैन। सरकारले दिने भत्ताको भरमा बाँचेकी छु। छोरा भए पनि वर्षौंअघि भारत गएकाले सम्पर्कमा छैन।”

नयाँ घरको चाबी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विकलाई हस्तान्तरण गर्नुभएको हो। दलित केन्द्रले पालिकाको समन्वयमा सोचेअनुसार काम गरेको बताउँदै अध्यक्ष तिवारीले असहाय परिवारका लागि पालिका सधैँ साथमा रहेको र असहाय व्यक्ति अँध्यारो र भोकै बस्न नपर्ने बताउनुभयो। 

करिब ९८ हजार ८७० रुपियाँमा बनेको उक्त घर निर्माणमा गाउँपालिकाले जस्तापाताको व्यवस्था गरेको थियो। केन्द्रले ४५ जना सहयोगी खोजेर घर बनाएको हो। त्यस्तै केन्द्रले अचौ–४ की ६८ वर्षीय एकल महिला विष्णुमाया सुनारको घरमा पनि बिजुली बत्ती जोडिदिएको हो।