• ६ वैशाख २०८१, बिहिबार

इन्टरनेटको गति पच्चीस प्रतिशत हुनैपर्ने

blog

काठमाडौँ, माघ २२ गते । इन्टरनेट सेवा प्रदायकले अबदेखि कबुल गरेको न्यूनतम २५ प्रतिशत इन्टरनेट गति उपलब्ध गराउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पिक आवर’ पनि सम्झौतामा उल्लेख भएको गतिको न्यूनतम २५ प्रतिशत गतिसहितको इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । 

दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३ मा संशोधन गर्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यस्तो संशोधन हालै मात्र बोर्ड बैठकबाट पारित गरिएको प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । “इन्टरनेटको स्पिड सम्बन्धमा ग्राहकको गुनासोलाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो,” उहाँले भन्नुभयो । 

यो व्यवस्थाअनुसार एक सय एमबीपीएसको इन्टरनेट खरिद गरेको अवस्थामा अति व्यस्त समयमा पनि ग्राहकले न्यूनतम २५ एमबीपीएस स्पिडको इन्टरनेट अनिवार्य रूपमा पाउनुपर्नेछ । यसबाहेक अन्य व्यवस्था भने विनियमावलीमा तोकेबमोजिम नै हुनुपर्नेछ । विनियमावलीअनुसार सामान्य अवस्थामा ग्राहकले खरिद गरेको गतिको ७५ प्रतिशत वा सोभन्दा बढी गतिको हुनुपर्नेछ । डेटा प्राप्तिको सफलताको दर भने ८० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने व्यवस्था छ ।