• १४ वैशाख २०८१, शुक्रबार

खाद्य कम्पनीमा चामल खरिद गर्नेको भीड

blog

काठमाडौँ, माघ २२ गते  । बजारमा चामलको मूल्य प्रतिबोरामा दुई सयदेखि पाँच सय रुपियाँसम्म बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल किन्ने ग्राहकको भीड लाग्न थालेको छ । 

पछिल्लो समय बजारमा निजी व्यवसायीले चामलको मूल्य बढाएपछि सस्तो मूल्यमा खरिद गर्ने ग्राहक बढ्दै गएका हुन् । अन्य समयमा फाट्टफुट्ट ग्राहक जाने गरेकामा अहिले कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट सस्तोमा चामल खरिद गर्न बिहानदेखि बेलुकासम्म ग्राहकको भीड लाग्ने गरेको कम्पनीले जनाएको छ । बजार मूल्यभन्दा कम्पनीले वितरण गर्ने चामल प्रतिकेजीमा सातदेखि १४ रुपियाँ सस्तो रहेको छ । 

कम्पनीले जिरा मसिनो चामल प्रतिकेजी ७० रुपियाँमा बिक्री गरेको छ । यस्तै सोना मनसुली चामल प्रतिकेजी ५३ रुपियाँ, मकवानपुर चामल प्रतिकेजी ५० रुपियाँ र बास्मती चामल प्रतिकेजी ११० रुपियाँमा बिक्री भइरहेको छ । 

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बजार मूल्यभन्दा सस्तो भएकाले चामल खरिद गर्ने ग्राहकको आकर्षण बढ्दै गएको बताउनुभयो । उपभोक्तालाई राहत दिन सुपथ मूल्यमा चामल वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । 

खुद्रा व्यवसायीका अनुसार बजारमा भने जिरा मसिनो चामल प्रतिकेजी ७२ रुपियाँबाट बढेर ८४ रुपियाँ पुगेको छ । सोना मनसुली चामल प्रतिकेजी ५३ रुपियाँबाट मूल्य बढेर ६० रुपियाँ पुगेको छ । यस्तै मैदा प्रतिकेजी ६० रुपियाँबाट बढेर ९० रुपियाँ पुगेको छ ।  खुद्रा व्यवसायी चन्द्र थापाले चामल, मैदा, आँटालगायतको खाद्य वस्तुको मूल्य बढेको बताउनुभयो । होलसेल व्यवसायीले भन्नै मूल्य बढाए पछि खुद्रा मूल्य पनि बढेको उहाँले जानकारी दिनुभयो । 

एक लाख क्विन्टल बिक्री

कम्पनीले माघ दोस्रो सातासम्म एक लाख छ हजार ४९४ क्विन्टल चामल बिक्री गरेको छ । सुगम जिल्लामा ५२ हजार ८१० क्विन्टल र दुर्गम जिल्लामा ५३ हजार ६८४ क्विन्टल चामल बिक्री गरेको कम्पनीले जनाएको छ । 

कम्पनीसँग धानको मौज्दात ८० हजार ८४६, धानको मौज्दात एक लाख ३४ हजार ४३४ क्विन्टल र दुर्गम २४ जिल्लामा १८ हजार १९४ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जनाएको छ । कम्पनीसँग कुल खाद्यान्न मौज्दात दुई लाख १५ हजार २८० क्विन्टल रहेको छ । कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न वितरण गर्दै आएको छ ।

५३ हजार क्विन्टल चामल ढुवानी

कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि माघ दोस्रो सातासम्म ५३ हजार ६८४ क्विन्टल चामल ढुवानी गरेको छ । चालू आर्थिक वर्ष तीन लाख क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न २४ दुर्गम जिल्लामा चामल ढुवानी गर्दै आएको छ । 

दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न सरकारले बजेटमार्फत रकम अनुदानको व्यवस्था गरेको छ । दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन चालू आर्थिक वर्षमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकामा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको थियो ।

एक लाख २६ हजार क्विन्टल धान खरिद

कम्पनीले विभिन्न जिल्लाबाट एक लाख १२६ हजार ६७६ क्विन्टल धान खरिद गरेको छ । कम्पनीको मुख्य शाखा कार्यालय बिर्तामोर्डबाट छ हजार ६५६ क्विन्टल, प्रादेशिक कार्यालय विराटनगरबाट १० हजार ३०२ क्विन्टल, प्रादेशिक कार्यालय जनकपुरबाट छ हजार ५८९ क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ । 

यस्तै शाखा कार्यालयमध्ये लहानबाट २४ हजार ६२२ क्विन्टल, वीरगञ्जबाट १४ हजार क्विन्टल, नेपालगञ्जबाट आठ हजार १०८ क्विन्टल, बर्दियाको राजापुरबाट २९ हजार ९१३ क्विन्टल, प्रादेशिक कार्यालय धनगढीबाट ३० हजार १३१ क्विन्टल र शाखा कार्यालय महेन्द्रनगरबाट दुई हजार ९३२ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार किसानबाट धान खरिद गरेको हो । 

सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार १२८ रुपियाँ तोकेको छ ।

गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ रुपियाँ र मध्यम धानको दुई हजार ९०२ रुपियाँ तोकेको थियो । सरकारले प्रत्येक वर्ष धानको न्यूूनतम समर्थन मूूल्य निर्धारण गर्ने गर्छ । खाद्यले गत वर्ष तीन लाख क्विन्टल धान खरिद गरेको थियो ।