• ७ वैशाख २०८१, शुक्रबार

मल उपलब्ध गराउन झापाली चिया किसानको माग

blog

लिलाराज खड्का 

बिर्तामोड, माघ २२ गते । झापाका चिया किसानले चिया खेतीलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सरकारले चिया  खेतीका लागि आवश्यक मल  उपलब्ध नगराउदा चिया खेतीनै समस्यामा परेको गुनासो झापाली चिया कृषकको रहेको छ ।  

चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रासायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने  बताएका छन । बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफल कार्यक्रममा चिया किसान, उद्योगी र सरोकारवालाले चिया क्षेत्रलाई आवश्यक रासायनिक मल (यूरिया, डीएपी, पोटास, एमोनिया सल्फेट) लगायत सहज उपलब्धताको लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनीहरुले चिया क्षेत्रले मल नपाइरहेको समस्याको समाधानको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत पहल गर्न, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ लगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

उनीहरुले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ बमोजिम हरेक स्थानीय तहलाई आफ्नो पालिकाभित्रका चिया क्षेत्रलाई आवश्यक पर्ने मलको परिमाण समेत समावेश गरी प्रदेश र केन्द्र सरकार समक्ष मल माग गर्न आग्रह गरेका हुन  । 

साथै, साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन तथा चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउन उनीहरुको माग छ ।

झापामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । उक्त चिया खेतीका लागि वार्षिक १५ सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताउँनुभयो । 

चिया कृषकले  २०७६ सालसम्म रासायनिक मल पाइरहेको भएपनि २०७७ देखि सरकारले चिया क्षेत्रलाई रासायनिक मल उपलब्ध गराउन छोडेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले आरोप लगाउँनुयो । 

आवश्यक मल नपाउदा चिया कृषकलाई ठुलो समस्या भएको भनाई छ । चिया कृषकले सरकारसमक्ष पटक पटक ध्यानआकर्षण गराउँदा समेत मल उपलब्ध नभएको चिया उत्पादक संघका सहसचिव विनय कुमार गोयलले बताउँनुभयो ।  

कार्यक्रममा चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्र अधिकारी, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्ट, साल्ट टे«डिङ कम्पनी बिर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराई, कृषि सामग्री कम्पनी बिर्तामोडका निमित्त प्रमुख नारायण टुडु लगायातले चिया कृषकका समस्याका बारेमा बोल्नुभएको थियो ।