• ७ वैशाख २०८१, शुक्रबार

कथामा नयाँपन ह्यारीकी प्यारी

blog

काठमाडौँ, माघ २२ गते । पर्वतको भुका देउराली गाउँ जहाँ हरिप्रसाद चौलागाईं ‘ह्यारी’ (जितु नेपाल)को एउटा स्वास्थ्य चौकी बनाउने सपना हुन्छ। उनको सपना साकार गर्न काका जिते (विजय बराल) पनि उनीसँग साथमा साथ मिलाइरहेका हुन्छन्। यी दुवैलाई जसरी पनि गाउँमा स्वास्थ्य चौकी बनाउनु छ। 

स्वास्थ्य चौकी बनाउनका लागि अनेकन उपाए अपनाउँदा पनि ‘ह्यारी’ सफल हुँदैनन्। दुवै चन्दा उठाउनतिर लाग्छन् तर उनीहरूलाई गाउँलेहरूले साथ दिँदैनन्। चन्दाको उपाए पनि असफल हुने देखिएपछि ‘ह्यारी’ काकाको उक्साहटमा पुख्र्यौली जग्गा बेच्न तम्सिन्छन् तर ‘ह्यारी’को हजुरआमा (लक्ष्मी गिरी)ले उनको यो योजना पनि सफल हुन दिन्नन्। 

ह्यारी गाउँलेका लागि गाउँमा स्वास्थ्य चौकी बनाउन किन सङ्घर्ष गरिरहेका छन् त ? यसको जवाफ नै चलचित्रको मुख्य कथा हो। अनेकन उपाए अपनाउँदा पनि ह्यारीले गाउँमा स्वास्थ्य चौकी बनाउन नसकिरहेको बेला अचानक एक दिन पत्रिकामा उनले एउटा विज्ञापन देख्छन्, जुन विज्ञापनले उनलाई स्वास्थ्य चौकी बनाउन मद्दत गर्छ। उक्त विज्ञापन जेनी (साम्राज्ञी आरएल शाह)ले दिएकी हुन्छिन्। उनी चलचित्रमा डाक्टरको भूमिकामा देखिएकी छन्। हजुरआमा (सरला रिजाल)ले विवाह गर्न दिएको दबाबका कारण उनले यस्तो विज्ञापन दिनु परेको हुन्छ। जेनीले विवाह गरेर बच्चा जन्माएको हेर्ने उनको हजुरआमाको ठूलो रहर छ तर जेनीलाई बिहे गर्नु छैन। त्यसैले उनी हजुरआमाको रहर पूरा गर्न टेस्टट्युब बेबी अर्थात् आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन) प्रविधि रोज्छिन्।

यता पैसाको खोजीमा रहेका ह्यारी गाउँमा स्वास्थ्य चौकी बन्छ भने जे पनि गर्न तयार हुन्छन्। यसपछि चलचित्रको कथाले भिन्न रूप लिन्छ। सहरी वातावरणमा हुर्किएकी जेनी र गाउँले परिवेशमा हुर्किएका ह्यारीको जीवनमा बिहेले ल्याउने उतारचढावका कुरा नै चलचित्रको मुख्य विषय हो। दुवैले आआफ्नो स्वार्थ पूरा गर्न कस्ता अप्ठ्यारा सामना गर्नुपर्छ भन्ने पनि चलचित्रमा देखाइको छ। चलचित्रको कथा आमदर्शकका लागि नयाँ हुन सक्छ। नेपालको सन्दर्भ यस्तो खालको कथाको विषयवस्तु उठान गर्नु नौलो नै मानिन्छ। दर्शकलाई पक्कै पनि यस्तो विषयले चलचित्र हेर्न आकर्षित गराउँछ। चलचित्रको कथा नयाँ र राम्रो सम्भावना बोकेको छ। 

हास्य कलाकार जितु नेपाल चलचित्रमा फिट देखिएका छन्। चलचित्रमा उनी पहिलो पटक प्रमुख भूमिकामा देखिए पनि उनको अभिनयले उनको यो पहिलो डेब्यु चलचित्र भन्ने खासै लाग्दैन। चलचित्रमा जितुले आफ्नो भूमिकाका लागि धेरै नै मेहनत गरेको देखिन्छ। 

नायिका साम्राज्ञीको अभिनयलाई रामै्र भन्नुपर्छ। काकाको भूमिकामा देखिएका विजय बरालको अभिनयमा नयाँपन झल्कन्छ। उनलाई ‘ह्यारी’को काकाको भूमिका एकदमै सुहाएको छ। यस्तै अन्य कलाकार रञ्जना भट्टराई, नरेश पौडल, लक्ष्मी गिरी, सुवास गजुरेल, सरला रिजाललगायतलाई पनि हामीले बिर्सन हुँदैन। उनीहरूले पनि आआफ्नो भूमिकामा न्याय गरेका छन्। निर्देशक कपिल रिजालले चलचित्रमा दुईवटा समस्यालाई उजागर गर्न खोजेका छन्। उनले ह्यारी र जेनीको समस्यालाई एउटा राम्रो पारिवारिक कथा बनाएर दर्शकसामु 

पस्कन खोजेका छन्। जसमा उनी धेरै मात्रामा सफल देखिएका छन्। ह्यारीको सङ्घर्ष र पैसाका लागि उनले गरेको त्यागलाई चलचित्रमा बेजोड तरिकाले पस्कन निर्देशक सफल भएका छन्।