• १६ चैत २०८०, शुक्रबार

सुख्खा बढेपछि सुरु भयो डढेलो

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २२ गते । सर्लाहीको वन क्षेत्रमा यो वर्ष माघको मध्यतिरबाटै डढेलो लाग्न सुरु भएको छ। सागरनाथ वन विकास परियोजनाको प्लट क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो। 

चरिचरण क्षेत्रका रूपमा रहेको पलोट क्षेत्रमा चाँडो घाँस तथा पालुवा पलाउने भन्दै स्थानीय बासिन्दा र गोठालाले नै डढेलो लगाउने गरेका छन्। 

परियोजनाको फूलजोर, सागरनाथ, रानीगञ्ज, धरहरालगायत क्षेत्रमा डढेलो लागेको छ। वन क्षेत्रमा डढेलो लगाउँदा बोटबिरुवा नष्ट हुने, जङ्गली जनावर सङ्कटमा पर्ने र वायु प्रदूषण बढ्नेबारे सचेतना नहुँदा छेउछाउका बस्तीकै स्थानीयले नै डढेलो लगाउने गरेका छन्। डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डीएफओ) मञ्जुर अहमदले एक/दुई ठाउँमा लागेको डढेलो वन रक्षक र अन्य कर्मचारी मिलेर निभाइरहेको बताउनुभयो। जिल्ला वन प्रमुख अहमदले स्थानीयवासी आफैँ सचेत र सक्रिय नभएसम्म वन क्षेत्रलाई डढेलोबाट बचाउन मुस्किल रहेको बताउनुभएको छ। 

यो वर्ष हिउँदमा वर्षा हुन नसक्दा तराई मधेशका जिल्लामा सुक्खापन बढेको छ। जसले गर्दा मध्य माघदेखि नै वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो। वन क्षेत्रमा प्रायः धेरै सुक्खापन हुने फागुन, चैत महिनामा जताततै डढेलो लाग्छ। यो वर्ष भने पानी पर्न नसक्दा अहिलेदेखि नै अत्यधिक सुक्खापन बढेकाले डढेलो लाग्न सुरु भएको हो। 

डढेलो लाग्ने याम सुरु भएसँगै बँदेल, हरिणजस्ता जिल्लाका वनमा रहेका वन्यजन्तु मानव बस्ती र किसानको खेतबारीमा आउन थालेका छन्। यो बेला ती वन्यजन्तुको सिकार बढ्ने गरेको छ।