• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : सत्ता पक्षको उम्मेदवार अर्याल

blog

काठमाडौँ, माघ २२ गते । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिनुहुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । 

नेकपा (माओवादी केन्द्र)की नेत्रीसमेत रहनुभएकी अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिनुभयो । लामो समयसम्म नेकपा (एमाले)मा रहनुभएकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको थियो । राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो ।  

सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ । 

नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलबीच उम्मेदवारीबारे छलफल भइरहेको तर निर्णय भने भइनसकेको बताउनुभयो । उहाँले शनिबार सामान्य छलफल भए पनि सत्ताबाहिरका दलले आन्तरिक छलफल गर्ने जनाएकाले आइतबार बिहान १० बजेसम्म पर्खिने बताउनुभयो । 

उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भने प्रस्ताव सोमबार माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुनेछ । उम्मेदवारका प्रस्तावक र समर्थकले उम्मेदवारीको प्रस्तावमा सङ्क्षिप्त छलफल गर्ने र त्यसपछि क्रमअनुसार दर्ता भएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । एकल उम्मेदवारी परेको अवस्थामा अध्यक्षले एकल प्रस्ताव दर्ता भएको उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ ।