• ७ वैशाख २०८१, शुक्रबार

मूल्य घटाएपछि बिक्यो बासमती चामल

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २२ गते । ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार प्रतिकेजी नौ रुपियाँ घटाएपछि बासमती चामल बिक्री बढेको शाखा प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत पुस २१ गतेदेखि ताप्लेजुङमा छुट मूल्यमा बासमती चालम बिक्री गर्न थालिएको हो । बासमती चामल प्रतिकेजी ११४ रुपियाँ रहेकोमा हाल नौ रुपियाँ घटाई १०५ रुपियाँमा बिक्री गर्दै आएको शाखा प्रमुख लोवाले जानकारी दिनुभयो । उहाँले चालू आर्थिक वर्षको साउनदेखि माघ २० गतेसम्ममा दुई हजार ६७० केजी बासमती चामल बिक्री भएको जानकारी दिनुभयो । 

कम्पनीले पुरानो चामल बिक्री गरी गोदाम खाली गर्न उक्त छुट दिएको हो । अब शाखामा करिब ५५ क्विन्टल मात्र मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा बासमतीबाहेक अन्य चामल जिरा मसिना र सोना  भने राम्ररी बिक्री हुने गरेको शाखा कार्यालयले जनाएको छ । 

शाखाका सूचना अधिकारी गोपाल राईका अनुसार चालू आर्थिक वर्षको शुक्रबारसम्ममा सोना  चामल ६५ हजार २८० किलोग्राम र जिरा मसिना ४९ हजार ९९५ किलोग्राम बिक्री भएको छ ।