• १६ चैत २०८०, शुक्रबार

गाई बाँझो हुने क्रम बढ्दो

blog

हिले समाचारदाता 

हिले, माघ २२ गते । धनकुटाको पाख्रिबास नगरपालिका–४ का पदमबहादुर बस्नेतले पशुपालन सुरु गरेको करिब एक दशक भयो। दुग्ध उत्पादनलाई जोड दिनुभएका बस्नेतको गोठमा २३ माउ गाई छन्। 

गोठमा भएका केही गाई भर्ना हुँदै उल्टिँदै गरेपछि गाईबाट घाटा हुने चिन्ता उहाँलाई छ। गाई पालनमा राम्रो भविष्य देखेर यो पेसा सुरु गर्नुभएका बस्नेतलाई अहिले भने यो पेसा निल्नु न ओकल्नु भएको छ। बस्नेत भन्नुहुन्छ “प्राय गाईहरूमा उल्टिने समस्या छ। एक पटक होइन पटकपटक यो समस्या देखिन थालेको छ।”

बस्नेतलाई जस्तै धनकुटाकै छथरजोपाटी गाउँपालिका–१, हात्तीखर्कका कृषक भरत कार्कीलाई समेत गाई बाँझै बस्ने समस्याले चिन्तित बनाएको छ। आधुनिक ढङ्गले पशुपालन गरेर व्यावसायिक बन्नुपर्छ भनेर धेरै किसानलाई यो व्यवसायमा लाग्न प्रेरित गर्ने उहाँ यतिबेला भने  गाई थारै बस्ने समस्याले आजित हुनुहुन्छ। अहिले उहाँसँग छवटा गाई छन्। गोठमा भएका अरू गाई भर्ना हुँदै उल्टिँदै गरेपछि दिक्क भएर थोरै पैसामा उहाँले गाई बेच्नुभयो। “पटकपटक गाई बाँझै बस्ने समस्याले सताएपछि बाध्य भएर अन्य गाई सस्तैमा बेच्न बाध्य भइयो” कार्की भन्नुहुन्छ। 

केही समय यता धनकुटामा गाई थारै बस्ने समस्या बढेको छ। यसबाट धनकुटाका किसानहरू आजित भएका छन्। अधिकांश व्यावसायिक फर्मका सञ्चालक यस्तो समस्याबाट पीडित भएका हुन्। 

भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले विशेषज्ञहरूको टोलीसहित किसानका गोठगोठमा गएर पशुको उपचार  शिविर सञ्चालन गरिरहेको पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाको भनाइ छ। “गोठगोठमा पुगेर हामीले गाई बाँझै बस्ने अवस्था र कारणको बारेमा जानकारी दिइरहेका छौँ,” ढुङ्गाना भन्नुहुन्छ।

 आधुनिक गाई फार्म खोल्ने अनि आहारा पुरानै पाराले दिने चलनले उन्नत जातका गाईलाई पोषणको मात्रा नपुग्दा पाठेघरमा सङ्क्रमण भई गर्भ नअडिएको प्राविधिकहरू बताउँछन्।  किसान पशु आहाराबारे सचेत नभएसम्म गाई थारो हुने समस्या कायमै हुने पशु चिकित्सकको भनाइ छ।

 किसानहरूले व्यावसयिक गाई पालनका लागि प्राविधिक सीपको जानकारी नलिई भकाभक लगानी गर्दा अहिलेको अवस्था आएको विज्ञहरूको भनाइ छ। आधुनिक ढङ्गले पशुपालन गरे पनि गाई नब्याउने समस्या भएपछि कतिपय किसान यो व्यवसायबाट हात झिक्ने अबस्थामा समेत पुगेका छन्।