• ६ वैशाख २०८१, बिहिबार

प्रदेश सरकारको काम अब तीव्र गतिमा अगाडि बढ्छ : मुख्यमन्त्री यादव

blog

मधेश प्रदेशको प्रदेश सभा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रदेश सभा सदस्यलाई सम्मान गर्नुहुँदै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादवलगायत ।

धर्बेन्द्र झा 

जनकपुरधाम,माघ २१ गते। मधेश प्रदेशको प्रदेश सभाले शनिबार विभिन्न कार्यक्रम आयोजना गरेर आफनो पाँचौ वार्षिकोत्सव मनाएको छ। 

उक्त अवसरमा प्रदेश सभा सचिवालय मधेश प्रदेशले प्रदेश सभा भवन अगाडि सडक सरसफाई, रक्तदान र विभिन्न खालका खेल प्रतियोगिता सहितको कार्यक्रमको आयोजना गरेको हो। 

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डलसहित प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो।

कार्यक्रममा प्रदेश सभामा महत्वपूर्ण सुझावलाई मर्यादित तरिकाले आफनो मन्तव्य राखेर प्रदेश सभाको बैठक सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जसपाका प्रदेश सभा सदस्य रामआशिष यादवलाई उत्कृष्ट प्रदेश सभा सदस्यको उपाधि दिइएको छ। 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कानुन निमार्णमा प्रदेश सभाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै अझै पनि धेरै कानुन निमार्ण गर्नुपर्ने भएकोले अगामी दिनमा एकताबद्ध भएर अघि बढनु पर्ने आवश्यकतामा जोड दिनुभयो। 

उहाँले संघीयताको जननी रहेको मधेश प्रदेशले संघीयताको सफल कार्यान्वयनका लागि सत्ता  पक्ष र विपक्ष एकजुट भएर अघि बढ्नेमा आफू आशावादी रहेको बताउनुभयो। 

उहाँले भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो। उहाँले मधेश प्रदेश सरकारले पूर्णता पाएको कारण प्रदेश सरकारको कामकाज तीव्र गतिमा अगाडि बढने बताउनुभयो। 

कार्यक्रममा संघीयताको स्थापनापछि कानुन निमार्णमा अहम भूमिका खेलेका प्रदेश सभाको पहिलो कार्यकालका प्रदेश सभा सदस्यलाई सम्मान गरिएको थियो।