• ८ वैशाख २०८१, शनिबार

स्कुल बसको ठक्करबाट युवकको मृत्यु, दुई घाइते

blog

जनार्जन खत्री
सर्लाही, माघ २१ गते ।
 सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–४ मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासीय विद्यालयको ना १ क ४९५१ नम्बरको बसले ठक्कर दिँदा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका १८ वर्षीय छोरा दीपेन्द्र महतोको मृत्यु भएको हो ।

बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी १७ वर्षीया छोरी सबनम गुप्ता र जगदिस महतोकी १७ वर्षीया छोरी पूजाकुमारी महतो घाइते हुनुभएको छ ।

उहाँहरूलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेमध्ये पूजा कुमारीको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु भएका युवक र घाइते दुबै जना अर्को विद्यालयका विद्यार्थी नै हुन् । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।