दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जाको विकास आवश्यक- मन्त्री पुन

लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, वैशाख २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जाको विकास आवश्यक रहेको बताउनुभएको छ ।
दोहोरो आर्थिक वृद्धि प्राप्त गर्नका लागि प्रमुख आधार ऊर्जाको विकास भएको चर्चा गर्दै मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी मन्त्रालयले कार्ययोजना निर्माण गरिरहेको बताउनुभएको छ ।
आइतवार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले आफुले कुरा भन्दा पनि काम गर्ने योजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले यसअघिको सरकारले सार्वजनिक गरेको ९९ बुँदे ऊर्जा कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने समेत बताउनुभयो ।
आफुले मन्त्रालय सम्हालेपछि ऊर्जाको विकासको एउटै मिसन लिएर काम गर्न थालेका बताउँदै नेपालको बिजुली भारत मात्र नभई बंगलादेश र चीन लगायतका देशमा बेच्न सकिने प्रशस्त सम्भावना रहेकोले ती देशसँग ऊर्जा खरिद सम्झौता (पीटीए)गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, बंगलादेशसँग पीटीएको कुरा धेरै अघि बढीसकेको छ र चीनसँग कुराकानी चलिरहेको छ । सरकारले यो कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । यसमा हामीलाई सफलता मिल्नेछ ।
अघिल्लो सरकारले घोषणा गरेको नेपालको पानी जनताको लगानी भन्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गरिने समेत जानकारी दिँदै ऊर्जा मन्त्री पुनले भन्नुभयो, जलविद्युत्मा लगानी गर्ने वातावरण सिर्जना हुनेछ र सर्वसाधारण सबैले जलविद्युत् आयोजनाको शेयरमा लगानी गर्न सक्ने गरी व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएकोछ ।
उहाँले ऊर्जा बैँङ्किङ ( पावर बैँङ्किङ) कुरा सरकारले अगाडि बढाइरहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सरकारले पावर बैँङ्किङको तयारी गरिरहेको छ । अब हुने नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठकमा पनि यसको कुरा उठ्ने छ । यो दुबै देशको हितमा हुनेछ ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पुनले जलविद्युत् आयोजनाको अनुमति पत्र दिने प्रणाली र पद्धतीलाई वैज्ञानिक बनाइने बताउनुभयो । आयोजनाको अनुमति पत्र ओगट्ने तर काम गर्न नसक्नेको अनुमति पत्र खारेज गरिने र काम गर्ने क्षमता भएकालाई अनुमति प्रदान गरी नेपालको जलविद्युत् विकासको अवरोध हटाइने समेत उहाँले बताउनुभयो ।
सबै प्रदेशमा ऊर्जाको समविकासको अवधारणा अनुसार आफुले काम गर्न थालेको बताउँदै मन्त्री पुनले भन्नुभयो, हालको सात वटा प्रदेशलाई आधार मानेर ऊर्जा विकासको योजना अनुसार काम गर्न मन्त्रालय लागि रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds