नयाँ वर्षको सङ्कल्प समृद्ध नेपाल र सुखी नेपाली (सम्पादकीय)


वि.सं. २०७५ को पहिलो दिन शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको राराबाट देशवासीका नाममा सम्बोधन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सङ्कल्प गर्नुभयो र पाँच वर्षमा परिवर्तनको अनुभूति हुनेगरी केही काम गर्ने आश्वासन दिनुभयो । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु भएको कर्णाली–रारा पर्यटन वर्ष २०७५ को अभियान सुरु गर्दै प्रधानमन्त्रीले मुलुकमा राजनीतिक सङ्क्रमण अन्त्य भई नयाँ जनादेशबमोजिम बलियो सरकार बनेको र नयाँ वर्षको पहिलो दिन विकासमा पछाडि परेको मानिएको तर प्राकृतिक सम्पदा र सौन्दर्यको धनी कर्णालीको सुन्दर राराबाट देशवासीका नाममा सम्बोधन गर्नुले सरकारको गन्तव्य र सङ्कल्प सङ्केत गरेको धारणा व्यक्त गर्नुभयो र यसले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिबाट हासिल हुने धारणा व्यक्त गर्नुभयो ।
मुलुक लामो राजनीतिक सङ्क्रमण र अस्थिरताबाट स्थिरता र आर्थिक समृद्धिको मार्गतर्फ अग्रसर भएको छ । बितेको २०७४ सालमा सबै तहका निर्वाचन भएपछि बलियो सरकार बनेको छ । यो वर्षभरिमा मुलुकका सबै तह र निकायमा नयाँ संविधान बमोजिमका संयन्त्र स्थापना भए । यससँगै लामो समयदेखि विद्यमान राजनीतिक सङ्क्रमणको अन्त्य भई मुलुकमा स्थिरताको सुरुआत भएको सबैले मानेका छन् । मुलुकमा बलियो र स्थिर सरकार बहाल भएको छ र आर्थिक समृद्धिको यात्रामा अग्रसर भएको छ । स्थानीय तहदेखि प्रदेश र सङ्घमा सरकार गठन भई आफ्नो काम थालिसकेका छन् । सबै संरचना नयाँ भएकाले सबै काम सहज रूपले अगाडि बढ्न सकिरहेका छैनन् तर तीनै तहका सरकारले केही उल्लेख्य कामको सुरुआत गरेका छन् । यो महोत्सव यसकै एउटा उदाहरण हो । मुलुकको अबको प्राथमिकतामा आर्थिक समृद्धि, सुशासन, राष्ट्रिय स्वाभिमान नै हो । यही कुरालाई सबै तहका सरकारले आत्मसात् गर्न खोजेको स्पष्ट हुन्छ । राराबाट भएको प्रधानमन्त्रीको सम्बोधनले पनि यही कुरालाई जोड दिएको छ । सम्बोधनमा प्रधानमन्त्रीले वर्तमान सरकारको लक्ष्य सामाजिक न्याय, लोकतन्त्र, बराबरी सुरक्षा, समान अवसर, सुशासन, समृद्धि र जनताको जीवन सुखी पार्र्ने रहेको तथा सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले अगाडि बढ्ने र त्यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नयाँ वर्षको शुभकामना र सङ्कल्प प्रस्तुत गर्दै प्रधानमन्त्रीले नयाँ युगको परिकल्पना गर्नुभएको छ, जहाँ स्वाधीन देशका सावैभौम नागरिकबीच कुनै विभेद र असमानता हुनेछैन, जहाँ सामाजिक न्याय र लोकतन्त्र हुनेछ, जहाँ सबैलाई बराबरी सम्मान र सुरक्षा, बराबरी अधिकार र अवसर प्राप्त हुनेछ, जहाँ सुशासन र समृद्धि हुनेछ, जहाँ जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध हुनेछ ।
अब मुलुकको लक्ष्य समृद्धि र सुशासन नै हो । लामो समयदेखि जनताले लिएको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न अब कुनै कसर बाँकी राख्नुहुँदैन । प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभए जस्तै मुलुकको विकास र जनआकाङ्क्षा पूरा गर्ने नयाँ अवसर प्राप्त भएको छ । यो अवसरलाई खेर जान नदिनु नै अहिलेको आवश्यकता हो । विगतमा झैँ आश्वासनले मात्रै जनताको चित्त बुझ्ने अवस्था अब रहेन । चुनौती धेरै छन् तर सम्भावना पनि उत्तिकै छन् । राजनीतिक सङ्क्रमण सकिएको र नयाँ संरचना निर्माण भइसकेको अहिलेको अवस्थामा अब दूरदृष्टि, दक्षता र इमानदारी आवश्यक छ । बाँकी रहेका केही व्यवस्थापकीय पक्षलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ । मूल कुरा राजनीतिक संस्कार र पुरानो सोचमा परिवर्तन जरुरी छ । सरकार, दलका तर्फबाट यी सङ्कल्प पूरा गर्ने प्रतिबद्धता आइरहेका छन् तर पनि अलमल बाँकी छ, जसको निराकरण नभई मुलुक समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds