• १२ वैशाख २०८१, बुधबार

प्रयोगविहीन बर्थिङ सेन्टर

blog

रेखीराम राना

पाल्पा, माघ २१ गते । गुणस्तरीय पूर्वाधारसहित तालिम प्राप्त जनशक्ति भए पनि घरमा बच्चा जन्माउने क्रम घटेको छैन । स्थानीय तहको लगानीमा व्यवस्थित पूर्वाधार र जनशक्तिसहित बर्थिङ सेन्टर स्थापना भए पनि घरमै सुत्केरी हुने क्रम नघटेको हो । 

जिल्लाका अधिकांश स्थानीय तहले घरमा जन्म हुने शिशुको सङ्ख्या शून्यमा झार्न बर्थिङ सेन्टरको स्थापना गर्ने क्रम बढेको छ तर बच्चा भने बर्थिङ सेन्टरमा होइन, घरमै जन्मिने गरेका छन् । पाल्पाका १० स्थानीय तहमा हाल ४५ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी भए पनि घरमा जन्म हुने शिशुको सङ्ख्यामा कमी आउन सकेको छैन । 

पाल्पाका दस स्थानीय तहमध्ये पूर्वखोला र रम्भा गाउँपालिकामा बाहेक अन्य आठवटा पालिकाका गर्भवती घरमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख छ । पूर्वखोला र रम्भाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती दुई पालिकामा गत आव २०७८÷७९ मा घरमा जन्म हुने शिशुको सङ्ख्या शून्य छ । अन्य आठ पालिकाका गर्भवती घरमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । 

पाल्पामा गत आव २०७८/७९ मा ११६ जना शिशुको जन्म घरमै भएको थियो । तीमध्ये सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकामा ३८ जना शिशुको जन्म घरमै भएको न्यौपानेले जानकारी दिनुभयो । रैनादेवी छहरामा गत वर्ष ९४ जना शिशुको जन्म भएकामा ४० प्रतिशत बढी शिशुको जन्म घरमै भएको थियो । 

आठवटा वडा रहेको रैनादेवी छहरामा तीनवटा बर्थिङ सेन्टर सञ्चालनमा छ । यस्तै तिनाउमा ३४ जना शिशुको जन्म घरमै भएको छ । तिनाउमा पाँचवटा वडामध्ये दुई वडामा बर्थिङ सेन्टर छ । रामपुर र निस्दीमा १६÷१६ जना, माथागढीका आठ, तानसेनमा दुई, बगनासकाली र रिब्दीकोटमा एक÷एक जना शिशुको जन्म घरमै भएको थियो । बर्थिङ सेन्टर भएकै वडामा घरमा बच्चा जन्माउने क्रम बढेको छ । 

गाउँमै सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना भए पनि घरमै सुत्केरी गराउने क्रम नघटेको स्वास्थ्यकर्मी बताउँछन् । 

शून्य होम डेलिभरीको नारासहित पालिकाले बर्थिङ सेन्टरका लागि लाखौँ रुपियाँ लगानी गरे पनि ती बर्थिङ सेन्टरमा सुत्केरी हुने सङ्ख्यासमेत कम रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । कतिपय स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या अत्यन्तै कम रहेको उहाँले बताउनुभयो । 

पालिकाले लगानी गरेका संस्थामा भन्दा जिल्लाका ठूला अस्पतालमा र बाहिरी जिल्लामा सुत्केरी हुनेको गर्भवतीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । “सुविधासम्पन्न पूर्वाधार र दक्ष जनशक्ति भएर मात्र नहुने रहेछ,” उहाँले भन्नुभयो, “सुत्केरी ढुक्कले हुने वातावरण बनाउन पालिकाले ध्यान दिनुपर्छ ।”