• १२ वैशाख २०८१, बुधबार

नेपालगन्जमा शनिबारदेखि मेयर तथा उपमेयर कप क्रिकेट

blog

मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

नेपालगन्ज, २० माघ । नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता २०७९ को तयारी पूरा भएको छ । प्रतियोगिता शनिबारदेखि मङ्गलप्रसाद उच्चमाविको खेल मैदानमा हुँदैछ । बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमले सहभागिता जनाउँदैछन् । 

प्रतियोगिताको उद्घाटन शनिबार बिहान हुँदैछ । उद्घाटन खेलमा पुरुषतर्फ मोर्डन पब्लिक स्कुल र अब्दुल्ला लायन क्रिकेट क्लब तथा महिलातर्फ होलिल्यान्ड स्कुल र मङ्गलप्रसादको टिमबीच प्रतिस्पर्धा हुनेछ । 

शुक्रबार आयोजक बाँके जिल्ला क्रिकेट सङ्घले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ । बाँके जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सरोवर प्रसाईले प्रतियोगिताले बाँकेको क्रिकेट स्तरलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘यस पटक गत वर्षभन्दा महिला र पुरुष दुबैमा धेरै टिमको सहभागिता छ । यसले बाँकेको क्रिकेट फेरी चलायन भएको सङ्केत गरेको छ । हामी यस्ता विभिन्न प्रतियोगिता गर्दै बाँकेबाट नयाँ प्रतिभावान खेलाडी छनोट गर्ने अभियानमा छौं ।’’

प्रतियोगिता संयोजक एवं बाँके जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष सुफियान खान पठानका अनुसार पुरुष तर्फ समूह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थन्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’ मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुर स्पोर्टस क्लब, रनियापुर युवा क्लब छन् ।

यसैगरी समुह ‘सी’ मा मङ्गलप्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवा क्लब र समूह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मङ्गोलियन स्पोर्टस क्लब, वीरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी परेका छन् । 

यसैगरी महिलातर्फको समूह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समूह ‘बी’ मा होलिल्यान्ड स्कुल, मङ्गलप्रसाद स्कुल र बालविद्या स्कुल छन् । 

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपियाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फका विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपियाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपियाँ र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ बन्ने खेलाडीले एक हजार रुपियाँ पाउनेछन् । 

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आकर्षक पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल मिति भने आयोजकले पछि सार्वजनिक गर्ने प्रतियोगिताका प्राविधिक संयोजक मोहन लम्सालले बताउनुभयो । 

प्रतियोगिता आयोजना गर्नको लागि नेपालगन्ज उप महानगरपालिकाले मेयर कप खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको लागि पाँच लाख र उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको लागि दुई लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । 

नेपालगन्जको मङ्गलप्रसाद उच्च माविको मैदानमा धेरै समयपछि क्रिकेट प्रतियोगिता हुँदा बाँकेमा क्रिकेटको रौनक बढेको बताउँछन् प्रतियोगिता संयोजक सोफियान खान पठान । उहाँले भन्नुभयो, ‘‘हामीलाई प्रतियोगिता गर्न मैदानको अभाव छ । मैदान नहुँदा धेरै समस्या हुने गरेको छ । कोहलपुरमा प्रतियोगिता गर्दा यहाँका टिम र खेलाडीलाई गएर खेल्न आर्थिक रुपमा समस्या पर्छ । त्यसैले नेपालगन्जमा प्रतियोगिता हुँदा यसले क्रिकेटलाई पुरानै लयमा फर्काउन सहयोग गर्छ ।’’