• ७ वैशाख २०८१, शुक्रबार

हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

blog

फाइल तस्बिर

काठमाडौं, माघ २० गते । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।

मन्त्री किरातीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारबारे सुझाव दिएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

“हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसङ्घले मन्त्री किरातीसँग आग्रह गरेको छ”, परिसङ्घले विज्ञप्तिमा भनेको छ ।

मन्त्री किरातीसँगको भेटमा परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले नेपालको हवाई भाडा अत्यन्त महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकिरहेको धारणा राख्नुभयो । त्यस्तै, परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसङ्घले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको उल्लेख गर्नुहुँदै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

परिसङ्घअन्तर्गतको पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गर्नुभयो । यस्तै अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखापरेको बारे पनि परिसङ्घले मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न र नेपाललाई फिल्मिङ’ गन्तव्यका रूपमा विकास एवं प्रवर्द्धनका लागि पहल गर्न पनि परिसङ्घले आग्रह गरेको छ ।