• ८ वैशाख २०८१, शनिबार

सडकका खाल्डाखुल्डी पुर्दै सडक डिभिजन

blog

सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुर्ने काम सुरु । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, माघ २० गते ।
सडक डिभिजन कार्यालय पाल्पाले सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गतका पाल्पा–बुटवल खण्डको सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सरकारले सडकमा परेका खाल्डाखुल्डी तत्काल मर्मत सुधार गर्न निर्देशन दिएपछि डिभिजन कार्यालयले काम सुरु गरेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनलगत्तै सिद्धार्थ राजमार्गको पाल्पा खण्डका विभिन्न स्थानमा परेका खाल्डाखुल्डी पुर्न सुरु गरिएको हो । हप्ता/१० दिनभित्र सडकको खाल्डाे पुर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले जानकारी दिनुभयो ।

सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको, यात्रुले अनावश्यक सास्ती बेहोर्नुपरेको, साना सवारीसाधनले सास्ती बेहोरेको जस्ता गुनासोपछि सडकमा परेका खाल्डा पुर्ने थालिएको हो । डिभिजन कार्यालय पाल्पाका अनुसार हाल राइडाँडादेखि बाँसटारीसम्मको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

त्यसपछि राइडाँडादेखि आर्यभङ्ज्याङ् हुँदै पीपलडाँडासम्मको सडक मर्मतसुधार गरिने डिभिजन प्रमुख निरौलाले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयले नै तत्कालका लागि २७ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे सडकमा सुधार गर्ने कार्य गरिरहेको उहाँले बताउनुभयो । सडक डिभिजनकै कर्मचारी तथा जनशक्ति लगाएर सडक सुधारको काम भइरहेको निरौलाको भनाइ छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डमा पर्ने बाँकी ४४ किलोमिटर सडकखण्डको मर्मतसुधार ठेकेदारमार्फत हुनेछ । त्यो काम पनि यही माघको अन्तिम सातादेखि काम सुरु गरिनेछ । सडक डिभिजनले काम गरेर बाँकी रहेको ४४ किलोमिटर सडक ठेक्कामार्फत मर्मत सुधार गरिने सडक डिभिजन कार्यालय पाल्पाको भनाइ छ । बाँसटारीदेखि झुम्सासम्म र पीपलडाँडादेखि राम्दीसम्मको सडक मर्मत तथा सुधारका लागि ठेक्का भइसकेको छ ।

सडकमा परेका साना–साना खाल्डा पुरेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई यात्रा गर्न सहज हुनेछ । यस्तै, दुर्घटना न्यूनीकरण गर्न भूमिका खेल्ने पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । ‘‘कतिपय स्थानमा सडकमा परेको खाल्डाेका कारण दुर्घटना हुने गरेको छ,’’ उहाँले भन्नुभयो, ‘‘सडकको मर्मतसुधार भएपछि दुर्घटना हुने सम्भावना कम हुन्छ ।’’ सडकको अवस्था सुधार भएपछि यात्राको अवधिसमेत कम हुने उहाँले बताउनुभयो ।