रुपन्देहीमा वैज्ञानिक वन व्यवस्थापन तीव्र

भैरहवा, चैत ३० गते   । रुपन्देहीमा वैज्ञानिक वन व्यवस्थापन कार्यले तीव्रता पाएको छ । कूल २५ हजार ५ सय २८ हेक्टर वन क्षेत्रमध्ये १२ हजार हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ । खासगरी जिल्लाका सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन कार्य तीव्र रुपमा अगाडि बढेको छ । सामुदायिक वन उपभोक्ता समूहले उमेर पुगेका रुख काट्ने, थिनिङ गर्ने, अग्नी रेखा निर्माण गर्ने, तारबार लगाउने जस्ता कार्य तीव्रताका साथ अघि बढाएका छन् ।
रुपन्देहीमा ९० वटा सामुदायिक वन छन् । ती मध्ये २० वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन कार्य अगाडि बढेको जिल्ला वन कार्यालयले जनाएको छ । वैज्ञानिक वन व्यवस्थापनका पक्षधरका अनुसार वैज्ञानिक वन व्यवस्थापनले वनको हैसियतमा सुधार आउने, वातावरणीय लाभ प्राप्त हुने, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, वन पैदावारको निरन्तर आपूर्ति हुने लगायतका फाईदा हुन्छ । रुपन्देहीका जिल्ला वन अधिकृत इन्द्रबहादुर पछाईले प्रति वर्ष २० हेक्टर सामुदायिक वनलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने गरी काम भैरहेको बताउनुभयो । रुपन्देहीमा २०६९ सालदेखि वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको हो ।
अहिले देवदह क्षेत्रमा रहेका तीनवटा सामुदायिक वनले वैज्ञानिक व्यवस्थापनको कार्यलाई तीव्र रुपमा अगाडि बढाएका छन् । जिल्लाका पूर्वी क्षेत्रका प्रगति, जनप्रिय र पाल्पाली सामुदायिक वनले व्यवस्थापनको कार्यलाई तीव्रता दिएका हुन् । प्रगति सामुदायिक वनका अध्यक्ष चन्द्रकान्त गौडेलले यस वर्ष वनका पनि पुराना रुख काट्ने र खाली स्थानमा बिरुवा लगाउने, अग्नीरेखा निर्माण, बिरुवाको गोडमेल, तारबार लगाउने र चरिचरनलाई रोक्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको बताउनुभयो । २ सय ८५ हेक्टर क्षेत्रफलमा फैलिएको वन व्यवस्थापनको लागि १० वर्षे कार्ययोजना बनाएर अगाडि बढेको उहाँको भनाइ छ ।
उक्त वनलाई गत वर्ष ३ प्रतिशत हेक्टर वैज्ञानिक व्यवस्थापन गरिएको थियो । यस वर्ष एउटा खण्डलाई १० उपखण्ड बनाएर तारबार, चरिचरण, फायरल्याण्ड निर्माण र १ सय २६ वटा विभिन्न प्रजातिका पुराना रुख काटिने योजना रहेको वनका सचिव पवन पौडेलले बताउनुभयो । वैज्ञानिक व्यवस्थापन सुरु गरेपछि जंगल ३ प्रतिशतका दरले वृद्धि भएको उनीहरुको सर्भेक्षणमा उल्लेख छ । उक्त वनमा ३ सय ५० घरधुरी आवद्ध छन् ।
त्यस्तै जनप्रिय सामुदायिक वन उपभोक्ता समितिले पनि वनलाई ८ वटा खण्ड बनाएर व्यवस्थापन गरिरहेको छ । उक्त वनका सचिव रुमा सापकोटाका अनुसार यस वर्ष एउटा ब्लकबाट १ सय ३२ वटा पुराना रुख हटाइने छ । जनप्रिय सामुदायिक वनले यस वर्षदेखि वैज्ञानिक व्यवस्थापन सुरु गरेको हो । २ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ४ सय १५ घरधुरी आवद्ध छन् । उक्त वनले प्रतिवर्ष ३१.१७ प्रतिशतका दरले वैज्ञानिक व्यवस्थापन गर्ने योजना बनाएको छ । उक्त वनमा अहिलेसम्म १२ हेक्टर क्षेत्रफलमा तारबार गर्ने काम भएको सापकोटाले बताउनुभयो ।
त्यस्तै २०६५ सालमा दर्ता भएको पाल्पाली सामुदायिक वनले पनि वैज्ञानिक व्यवस्थापनलाई तीव्र बनाएको छ । १ सय ८९ हेक्टर क्षेत्रफल रहेको वनमा १ सय ५ घरधुरी आबद्ध छन् । वनले पहिलो वर्ष १.५२ हेक्टर क्षेत्रफलका १ सय ८४ पुराना रुखमध्ये ८४ वटा उत्पादन दिन नसक्ने रुखलाई हटाइने उक्त वनका सहसचिव विष्णु बरालले बताउनुभयो । उक्त वनमा ४ सय ९८ जनसंख्या आश्रित छन् ।
वन अधिकृत र पछाईले सालको रुख ८० वर्षमा परिपक्व हुने आधारमा वैज्ञानिक वन व्यवस्थापनमा ८० वर्षको कार्य योजना बनाइएको छ । तराईका अधिकांश वनमा हुने रुख भनेको साल हो, उहाँले भन्नुयो ‘साल परिपक्व हुन ८० वर्ष लाग्छ, त्यही आधारमा वनलाई वैज्ञानिक व्यवस्थापनलाई अगाडि बढाउनुपर्छ ।’ देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले वैज्ञानिक वन व्यवस्थापनले नै वनको सही संरक्षण हुने भएकोले यो अभियान सबै क्षेत्रमा आवश्यक रहेको बताउनुयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना