• १५ चैत २०८०, बिहिबार

रेल विभागले जग्गा रोक्का गर्दा दर्जनौँ परिवार अलपत्र

blog

पूर्व पश्चिम रेलमार्गको रेखाङ्कन भएको कानेपोखरी – रङ्गेली सडक क्रस हुने ठाउँमा रोक्का भएका मोरङको कानेपोखरी ७ का घरजग्गाहरू । तस्विरः हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी,माघ २० गते । मोरङको कानेपोखरी – ७ आइतबारेका कमलप्रसाद पौडेलको २ बिघा जमिन छ । दुई बिघा जमिन भएको व्यक्ति यति बेला छोराछोरी पठाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ ।

१५ कट्ठाको एउटा कित्ता सहकारी संस्थामा धितो राखेर ऋण लिनुभयो । खेतीपाती बाट उत्पादन भएको अनाज बाहेक बिक्री गर्ने अरू कुनै थोक थिएन । छोरीको बिहे निस्केपछि ऋण लिन पौडेल बाध्य हुनुभयो । उहाँकै नाममा  १ बिघा ५ कट्ठाको अर्को कित्ता छ । दुवै कित्ताको पुच्छर तर्फ १५ धुर जति जमिनमा  रेलमार्गमा परेको छ । दुवै कित्तामा रेलको नक्सा परेकाले दुई वटै  जग्गा नेपाल सरकार रेल विभागले रोक्का गर्न बेलबारी मालपोत कार्यालयलाई पत्राचार ग¥यो । त्यसयता त्यस क्षेत्रका बासिन्दालाई रेलमार्ग घाँडो भएको छ । 

पौडेललाई खेतीको आम्दानीले ऋणको साँवा र ब्याज तिर्दै ठिक्क हुन्छ । घर पनि चलाउनै पर्याे । पौडेलले भन्नुभयो, दुई बिघाको महाजन भन्छन् ,तर न जग्गा बिक्री गर्न पाइन्छ ,न मुआब्जा पाइन्छ । ३ छोरी र १ छोराका बाबु पौडेलले जग्गा फुकुवा नहुँदा सामाजिक रूपमा अपमानित भएको बताउनुभयो । दुई छोरी बिहे गरेर दिएँ । घरमा भएका छोराछोरी पठाउने खर्च सम्म छैन ।गरिब हुँ,पैसा छैन,सहयोग गर्नुहोस् भन्न पनि अप्ठ्यारो । माटो कोट्याएर न खान मिल्ने न बेच्न ? कमलका छोरा अरविनले भन्नुभयो – क्याम्पसमा भर्ना गर्ने पैसा नभएकोले यो वर्ष पढ्न नपाउने भएँ । 

सोही गाउँका देवराज गुरुङको कानेपोखरी– रङ्गेली सडकमा ६ धुर जमिन छ । त्यहीँ सानो घर छ । उहाँको घरै भएर रेल गुड्ने नक्सा बन्यो । जुन दिन रेलले जग्गा अधिग्रहण गर्ने सूचना निकाल्यो, त्यति बेला खुसी थिएँ । रेल आउने भयो, मुआब्जा पाइन्छ, नजीकै कतै घर बासको बन्दोबस्त मिलाउँला भन्ने थियो । तर, ३ वर्ष भयो । न मुआब्जा पायौँ, न जग्गा बैङ्कमा राखेर केही उद्यम गर्न नै पाइयो ।  २ वर्ष यता देवराज गुरुङलाई राम्रो सँग निन्द्रा लागेको छैन । भएको सबै सम्पत्तिमा रेल गुड्ने भयो । 

गुरुङका छिमेकी दाताराम भट्टराई उहाँ कि पत्नी र बुहारी तीनै जनाको जग्गा रोक्का भएको छ । भएको सिरिखुरि सम्पत्ति त्यही हो । नातिलाई रोजगारका लागि विदेश पठाओैं भनेको न साहुले पत्याउँछन् ,न बैङ्क वित्तीय संस्थाले । रोक्का भएको जग्गाको पालिकाले मालपोत पनि लिँदैन ।त्यसैले बिक्री गर्न पाउने कुरै भएन । जग्गा रोक्का भएपछि भट्टराई परिवारका हात गोडा बसेका छन् । उहाँले भन्नुभयो – परिवारका सदस्यको नाममा भएको जग्गा रोक्का भएपछि साहु महाजनले पनि पत्याउन छोडे  ।

कानेपोखरी ७ का १६१, कानेपोखरी ५ का १४ र कानेपोखरी–६ का ५ परिवारको जग्गा रेलमार्गका कारण रोक्का भएको छ । रेलमार्गमा जग्गा पर्नेहरू रेलको  विरोध गरेका छैनन् । रेल चाँडै चढ्न पाइयोस् भन्ने सबैको चाहना छ । तर, खनी खोस्री खाने जग्गा ३ वर्षसम्म रोक्का हुँदा कुनै आर्थिक गतिविधि गर्न नपाएको प्रभावित क्षेत्रका बासिन्दाको भनाई छ । रेल प्रभावित क्षेत्रका चेतनाथ पौडेलले भन्नुभयो–ऋण खान मात्र होइन,घर बनाउन पनि पाइएको छैन । एक बिगाहा जग्गाको पुच्छरमा ५ धुर जग्गा रेलको नक्सामा पर्छ । पुरै जग्गा रोक्का भएको छ । कतिपयले अंशबन्डा गर्न पाएका छैनन् । उहाँले भन्नुभयो–मुआब्जा दिन नसक्ने भए सरकारले रोक्का खुलाइ दिनु उहाँको माग छ ।  

रेल विभागका सूचना अधिकृत एवं प्रवक्ता अमन चित्रकारले भन्नुभयोे– हामीसँग नै जवाफ छैन । सरकारले व्यक्तिको निजी सम्पत्ति अधिग्रहण गर्न पाउँछ । त्यसो भन्दैमा ३ वर्षसम्म अनिर्णयको बन्दी बन्नु हुँदैन । उहाँले स्रोत सुनिश्चितता हुन्न भने जग्गा फुकुवा गर्नुको विकल्प नभएको बताउनु भयो । कि प्रक्रिया पुर्याएर सरकारले जग्गा लिनुपर्छ । कि फुकुवा गरिदिनुपर्छ । विराटनगर विमानस्थलको छेउछाउका  जग्गा पनि रोक्का थिए । अहिले फुकुवा भएका छन् । चित्रकारले निजी सम्पत्तिको भोग चलनको अधिकारबाट नागरिकलाई वञ्चित गराउनु नहुने बताउनु भयो । 

मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले जग्गा रोक्का हुँदा गाउँपालिकाको आन्तरिक राजश्वमा समेत कमी आएको बताउनु भयो । इङ्नामले मोरङभरिका रेलमार्ग पर्ने पालिकाहरूले सामूहिक रूपमा जिल्ला प्रशासन कार्यालय  मोरङमा रेलमार्गको काम अघि बढाउन वा जग्गाको रोक्का फुकुवा गर्न माग गर्ने बताउनु भयो ।