‘दुई छिमेकीबीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुनेछ’

Bhesh Bdr Thapa 1नेपाल–भारतबीचको औपचारिक सम्बन्धले ७० वर्ष लामो समय पार गरेको छ । अनौपचारिक सम्बन्धका हिसाबले नेपाल–भारतबीच शताब्दीऔँ अघिदेखि सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको परम्परागत सम्बन्ध र पारस्परिक हितको विषय सधैँ चर्चामा रहनु स्वाभाविक हो । दुई देशबीच बेलाबखत सम्बन्धमा उतारचढाव हुँदै आएका छन् । तिक्ततापूर्ण सम्बन्धको अनुभूति पनि ताजै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाल–भारतबीचको सम्बन्ध सुधारको विषयले विशेष चर्चा पाएको छ । पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि पूर्व राजदूत, परराष्ट्र मामिलाविज्ञ डा. भेषबहादुर थापासँग नेपाल–भारत सम्बन्धका विविध सन्दर्भबारे गोरखापत्रका उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप :

 प्रधानमन्त्रीको आसन्न भ्रमणलाई यहाँले कसरी हेर्नुभएको छ ?
प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवारदेखि हुनलागेको तीनदिने भ्रमणलाई विगतका केही वर्षमा भारत–नेपालका सम्बन्धमा भएका गतिविधिलाई ध्यानमा राखेर कुरा गर्नुपर्छ होला । नेपालको संविधान जारी भएपछि जे–जस्ता संवाद दुई देशबीच भए । अनि त्यसपछि भएका घटनालाई हेर्दा सम्बन्धमा अप्ठ्यारोपन देखिएको मात्र होइन, संवाद नै रोकिएको स्थिति थियो । भारतीय नाकाबन्दीका कारण नेपाली जनता दुःख पाए । हालै सम्पन्न चुनावबाट नेपाली जनताले स्पष्ट जनादेश दिए । संविधानअनुरूप प्रक्रियाको थालनी पनि भएको छ । सम्बन्ध सुधारका लागि बलियो आधार खडा नहुन्जेल नेपालीले दुःख त पाउलान् तर आत्मसमर्पण गर्दैनन् भन्ने अभिव्यक्ति चुनावी मतमा देखियो । यसको अनुभूति भारतले पनि ग¥यो । नेपालीसँग सम्बन्ध सुधार गर्नुपर्छ भन्ने चेत भारतलाई अहिले आएको छ । भारतले छिमेकीप्रतिको नीतिलाई अहिले प्राथमिकता दिएको छ । नयाँ मोड दिने प्रयास भइरहेको छ । भारतले आफ्नो लक्ष्यप्राप्ति गर्न पनि छिमेकीसँग सम्बन्ध सुधार गर्नुपर्ने यथार्थलाई राम्रोसँग बुझेको छ । त्यसैको परिणामस्वरूप अहिलेको प्रधानमन्त्रीको भ्रमणलाई निकै प्राथमिकता दिएको देखिन्छ । सम्पर्कको नयाँ आधार शुरुवात गर्न खोजिएको छ । यी सबै कुरालाई हेर्दा भारतले नेपालसँग सम्बन्धमा नयाँ आयाम दिन खोजेको अनुभूति हुन्छ । मलाई लाग्छ, प्रधानमन्त्रीको आसन्न भ्रमणबाट दुई छिमेकी बीचको सम्बन्धमा नयाँ अध्याय शुरु हुनेछ ।

 नेपाल–भारतबीचको पछिल्लो तिक्तताको उपज नेपालको नयाँ संविधान मात्र हो कि, अरू केही कारण देख्नुहुन्छ ?
होइन, नेपालको नयाँ संविधान जारी भएपछि त्यो देखाउने माध्यम मात्र थियो । जुन प्रकारले नेपालमा राजनीतिक उथलपुथल भयो, त्यो नेपालको आन्तरिक सङ्घर्ष थियो । अन्ततः त्यो शान्ति प्रक्रियामा आयो र राजतन्त्रको अन्त्य भयो । त्यसपछि पनि नेपालमा अस्थिरता जारी रह्यो । परम्परागत रूपमा भारतको छिमेकीप्रति हेर्ने दृष्टिकोण ‘समानता कम र आधिपत्य बढी’ नै देखिन्छ । २००७ सालदेखि अहिलेसम्मको घटनालाई नियाल्दा त्यही देखिन्छ । कतिपय कुरा हामी कमजोर भएर होला, कतिपय ठाउँमा कमजोरीको फाइदा उठाउन खोजिएकाले होला या परम्परागत भारत स्वतन्त्र हुनु अघिदेखिको निरन्तरताको चाहना होला । आकारमा हामी कहिल्यै भारतसँग समान हुन सक्दैनौँ तर सार्वभौमिकताका हिसाबबाट हामी समान छौँ । त्यसमा समानता चाहिन्छ । नेपालमा जुनसुकै राजनीतिक व्यवस्था आए पनि त्यसलाई भारतले सहजै अङ्गीकार गरेन ।

 प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य प्राथमिकता के हुनुपर्छ लाग्छ ?
पहिलो कुरा सम्बन्ध सुधार नै हो । विश्वासको वातावरण बनाउनु हो । सम्बन्धलाई अझ प्रगाढ बनाउने तर समानतामा आधारित हुनुपर्छ । नेपाली राष्ट्रियता संरक्षण गर्दै अन्यसँग सम्बन्ध विस्तार गर्नुपर्ने हुन्छ । सम्बन्ध सुधार भएमा, विश्वासको वातावरण बनेमा बाँकी विषय तपसिलका हुन् । विश्वासको सङ्कटको कमी विगतमा देखियो । त्यसलाई पार गरेर अब विश्वासको वातावरण बन्नुपर्छ । प्रधानमन्त्रीको भ्रमणको मूल ध्येय त्यसमै केन्द्रित हुनुपर्छ । हिजो भएका सम्झौता कार्यान्वयन नहुनुका पछाडि विश्वासमा सङ्कट भएरै हो ।
सामान्य कूटनीतिक प्रक्रियाको उपज हो, घरभित्र बलियो भएमा मात्र छिमेकीले पनि आदरको दृष्टिले हेर्छ । हामी बलियो भएमा छिमेकीले पनि महŒव दिन्छ नै । अहिले केपी शर्मा ओली बलियो प्रधानमन्त्रीका रूपमा आउनु भएपछि भारतले पनि बढी महŒव दिनु स्वाभाविकै हो ।

 यो भ्रमणमा केही नयाँ सहमति हुन्छ कि सम्बन्ध सुधारको प्रयास मात्र हो ?
हेर्नुस्, म लामो समय भारतमा नेपालको राजदूत भएर बसेँ । उतारचढावको अनुभव पनि छ । संवादको स्तरको अनुभव पनि लिएको हुँ । मुख्यतः नेपाल–भारतबीचको सम्बन्ध विस्तार उच्च तहबाटै हुने हो । अहिलेको जुन तहको भ्रमण हुँदैछ, यस्तै भ्रमणले सम्बन्ध सुधार गर्ने हो । एउटा प्रोजेक्टमा सहमति गर्न र लिन यत्रो ठूलो भ्रमणको खाँचो नै पर्दैन । नेपाल–भारतबीच जुन किसिमको खुलापन छ, त्यसलाई दृष्टिगत गरेर सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्नुपर्छ । भ्रमणका क्रममा विभिन्न विषयमा छलफल होला तर ठोस सहमतिमा हस्ताक्षर हुँदैन । विगतमा भएको सहमतिको कार्यान्वयनको वातावरण बनाउने काम होला । कुनै ठोस सम्झौता हुने म देख्दिन ।
भारत स्वतन्त्र भएपछि नेपाल–भारत सम्बन्धले ७० वर्ष पार गरिसकेको छ । भ्रमणका क्रममा समझदारी हुने तर कार्यान्वयन नहुनुले अविश्वास बढाउँछ । नेपाली जनताले भनेको पत्याउँदैन, गरेर देखाएकालाई मात्र पत्याउँछन् । यसअघि धेरै सम्झौता भए, कार्यान्वयन भएनन् । यस विषयले दुई देशका प्रमुखबीच छलफलमा प्रवेश पाउला । कार्यान्वयनको पहलका लागि प्रधानमन्त्रीले पहल गर्ने भन्नुभएको छ ।

 सन् १९५० को असमान सन्धिको विषयले भ्रमणमा प्रवेश पाउला ?
प्रवेश पाउँदैन । सन् १९५० को असमान सन्धिका विषयमा छलफल गर्ने र निष्कर्षमा पुग्ने सरकारी संयन्त्रभन्दा छुट्टै र दुवै सरकारको निगरानीमा नेपाल–भारत प्रबुद्ध समूह गठन भएको छ । त्यसले गृहकार्य गरिरहेकाले त्यस विषयमा यो भ्रमणमा छलफल नहोला । प्रबुद्ध समूहले तयार पार्ने प्रतिवेदनका आधारमा त्यसलाई निष्कर्षमा पुग्ने कुरा भएको छ । समूहको मिति अझै चार महिना बाँकी रहेकाले त्यस विषयमा अहिले प्रवेश नहोला । अब नेपाल–भारतबीचको सम्बन्ध यथावस्थामा रहन सक्दैन ।

 प्रबुद्ध समूह गठन हुँदा नेपाल–भारतका प्रमुखमा ओली र मोदी नै हुनुहुन्थ्यो । अहिले उहाँहरूकै पालामा उच्चस्तरीय भ्रमण भइरहेको छ । सही रूपमा सम्बन्ध सुधारको प्रयास हो कि, यो देखावटी मात्र हो ?
यो जवाफ मलाई दिन गाह्रो छ । संवादको माध्यमबाट जे कुरा आएका छन्, त्यो गम्भीरतापूर्वक लिएको देखिन्छ । देखावटी नभनौँ । सम्बन्ध सुधार र विश्वासको वातावरण बनाउनेमा नेपाल–भारत दुवै गम्भीर देखिएका छन् । अब दुई देशबीचको सम्बन्ध यथास्थितिमा राख्न सक्ने अवस्था छैन, रहनुहुँदैन । समस्यालाई पन्छाउने होइन, समाधान गरेर अघि बढ्नुपर्छ भन्नेमा दुवैतिर गम्भीरता देखिएको छ । प्रबुद्ध समूह गठन हुँदा पनि दुई देशबीच गम्भीर छलफल भएको हो । अध्ययन र विश्लेषणका आधारमा निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ । यसले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेमा ठोस सहयोग पुग्ला ।

 यो भ्रमणबाट नेपाललाई के उपलब्धि होला ? भारतको के स्वार्थ देख्नुहुन्छ ?
सार्वभौमिक हिसाबबाट राष्ट्र समान हुन्छन्, चाहे ठूलो होस् कि सानो । त्यो समानतालाई व्यवहारमा उतार्नु प्रमुख हो । जुनबेला १९५० को सन्धिमा हामीले हस्ताक्षर ग¥यौँ, त्यतिबेला हामी संयुक्त राष्ट्रसङ्घको सदस्य पनि थिएनौँ । भारत र ब्रिटेनको मात्र यहाँ दबदबा थियो । खुला सिमानाले दुई देशबीच सहजता पनि आएको छ, चुनौती पनि त्यत्तिकै थपिदिएको छ । अब समस्या हल गर्ने उपाय दुवै देश मिलेर खोज्ने हो । दुवै देशको पारस्परिक हित र नागरिकको सुविधालाई ध्यान दिनु प्रमुख कुरा हो । सम्बन्धलाई नवीकरण गरेर आजको वास्तविकतामा ढाल्नु नै यो भ्रमणको मुख्य उपलब्धि हुन सक्ला । यसमा नेपाल र भारतको स्वार्थपूर्तिभन्दा पनि दुवै देशका जनताको आत्मसम्मानको संरक्षणमा केन्द्रित हुन सक्नुपर्छ ।

 नेपालका सरकार प्रमुखको पहिलो भ्रमण भारत नै होस् भन्ने भारत किन चाहन्छ ? यहाँको अनुभवले के भन्छ ?
यो परम्परा हो । निकटता देखाउने भारतको स्वार्थ होला । भारतसँग नेपालको लामो सम्बन्धको उपज पनि होला त्यो । यो उच्चस्तरीय भ्रमण घोडादौड होइन, को पहिला हुने को दोस्रो हुने ? माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चीनको गर्नुभयो । दुवै देश अहिले परिपक्व अवस्थामा पुगेका छन् । भारत वा चीन होइन, भारत र चीन हो । हामीले दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने छ । कसैको कुण्ठाको भोगी हामी हुन चाहन्नौँ । भ्रमण एकसाथ दुवैतिर त हुन सक्दैन, भ्रमण पहिलो र दोस्रोले भन्दा पनि सम्बन्ध प्रगाढ बनाउनु मुख्य हो । हामी कमजोर होउँला तर कसैको आधिपत्य सहन सक्दैनौँ ।

 भारत–नेपालबाट मुख्यतः के चाहन्छ ? उसको स्वार्थ केमा देख्नुहुन्छ ?
भारतको सोचाइ परिवर्तनशील छ । एउटै सोचाइ छैन । भारतमा म राजदूत हुँदा आई.के. गुजराल प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले ननरेसिप्रोकल (छिमेकीसँग बराबरीको हिसाबबाट होइन) एप्रोच गर्नुपर्छ, उहाँले प्रतिपादन गर्नुभयो । भारत ठूलो देश भएकाले त्यसो गर्नुपर्छ भन्ने उहाँको सोचाइ थियो । तर, नरेन्द्र मोदी प्रधानमन्त्री हुनुभएपछि नेपालको संविधानसभा हलमा आएर सम्बोधन गर्नुभयो । उहाँको अभिव्यक्तिले नेपालीको ताली पायो । यद्यपि, सम्बन्ध सुधारको अनुभूति नेपालीले गर्न पाएनन् । त्यही संविधान जारी हुँदा नाकाबन्दी हुने, त्यही संविधानको कार्यान्वयनका बेला खुला दिलले भारतले स्वागत गर्ने ? यस हिसाबले भारतीय सोचाइमा परिवर्तन देखिन्छ ।

 भ्रमणपछिको संयुक्त वक्तव्यको महŒव कति हुन्छ ? यसले के सन्देश दिने गर्छ ?
कूटनीतिक तवरले हेर्दा संयुक्त वक्तव्य समझदारीको नयाँ आधार र नवीकरण हो । भ्रमण कति सफल भयो भएन, त्यसले प्रस्ट पार्छ । भ्रमणको निष्कर्षलाई त्यसले दर्शाउँछ । यसअघि प्रधानमन्त्रीको ०७२ सालको भ्रमणमा संयुक्त वक्तव्य जारी नहुँदा निकै टीकाटिप्पणी भएको थियो । वक्तव्य प्रकाशन गर्नु विश्वव्यापी परम्परा हो । त्यसले भ्रमणको ठोस सन्देश प्रवाह गर्नैगर्छ ।

 अन्त्यमा, प्रधानमन्त्रीले नेपाल र नेपालीको हितका लागि अरू के–के विषय उठाउनु पर्ला ?
राष्ट्रहित, देशको प्रवद्र्धन, राष्ट्रियताको जगेर्ना, आर्थिक विकासमा साझेदारी नै प्रमुख विषय हुन् । यी विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले कुरा गर्नुपर्छ । भारतले यसलाई कसरी हेर्छ, त्यो भ्रमणपछि थाहा होला । यसले नै दुई देशबीचको सम्बन्धलाई कोल्टे फेर्ने मद्दत गर्नेमा शङ्का छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना