• १५ चैत २०८०, बिहिबार

शहीद सप्ताह : माथेमाको सम्झनामा स्मृतिसभा

blog

काठमाडौं, माघ १३ गते । शहीद धर्मभक्त माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा आज (शुक्रबार) स्मृतिसभाको आयोजना गरी स्मरण गरिएको छ । काठमाडौं महानगरपालिका मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थान सिफलमा स्मृतिसभा गरिएको हो ।

शहीद माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाका उपप्रमुख सुनीता डङ्गोलले, प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । स्मृतिसभामा कामपा–७ का अध्यक्ष विमलकुमार होडाले शहीदहरूले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो । शहीदहरूले नागरिकको स्वतन्त्रताबाहेक अरू केही पनि अपेक्षा नगरेको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले बताउनुभयो ।

विसं १९६६ आश्विन ९ गते काठमाडौंको ओमबहाल, जन्मनुभएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा ३१ वर्षको युवा अवस्थामा विसं १९९७ माघ १३ गते, काठमाडौंको सिफल उकालोमा  रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९९७ माघ ६ गते शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पुर्‍याउने क्रममा अमरत्व प्राप्त गर्ने शहीदको सम्झनामा कामपाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।

सप्ताहव्यपी कार्यक्रमअन्तर्गत यही माघ १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना हुनेछ । शहीद सप्ताहको अन्तिम दिन यही माघ  १६ गते शान्तिवाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित शहीद पार्कमा पुगी ज्ञातअज्ञात शहीदको सम्झनामा स्मृतिसभा गरिनेछ ।