• ११ वैशाख २०८१, मङ्गलबार

लगानीमैत्री वातावरण बनाउन आएको हुँ : मन्त्री भण्डारी

blog

पत्रकारसँग कुरा गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।

काठमाडौं, माघ १३ गते। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताउनुभएको छ। 

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताउनुभयो। उहाँले सरकार लगानीकर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउने कुरामा गम्भीरतापूर्वक अगाडि बढेको बताउनुभयो। 

उहाँले उद्योगी, व्यापारीले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाए बापत सरकारलाई कर तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महसुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योग सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याको कारण धेरै होलान्। विगतमा भूकम्प तथा कोरोना महामारीलगायत अन्य कारणले नेपालको अर्थतन्त्र र व्यापार घाटा जसरी चुलियो। नेपालको जनशक्ति बाहिरियो। यसमा समस्याको गीत गाएर होइन। समस्या समाधानको सम्भावनालाई पनि खोज्छौं। सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो। नीतिमा कहाँ हो समस्या ? लगानीकर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउने कुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारी उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध भएको छ।’’

मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीलाई प्रोत्साहित गर्ने र नीति कानुन फुकाइदिने काम गर्ने बताउनुभयो। उहाँले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गालाई निर्यात गर्ने वस्तुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताउनुभयो। एक्स्पो तीन दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।