• ६ वैशाख २०८१, बिहिबार

'चालकले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्छ'

blog

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्नुहुँदै नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ १३ गते । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताउनुभयो ।


सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यका लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने आफूहरुको माग गरेको जानकारी उहाँले दिनुभयो । सङ्घका अध्यक्ष लामाले देशभर एक हजार नौ सय जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्नुहुँदै उहाँहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गर्नुभयो । उहाँले आफूहरुको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।


नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्याङ्कर चालकहरुको माग सम्बोधन गर्न विद्यमान ऐन, कानुनमा संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । निर्देशक थानीले विनियमावलीमा भएका केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो विषयमा भएका विद्यमान ऐन, कानुनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसका लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने अपेक्षा मैले राखेको छु ।’’

कार्यक्रममा बोल्नुहुँदै काठमाडौं क्षेत्र नं. १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद राजन केसीले ट्याङ्कर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताउनुभयो ।

उहाँले ट्याङ्कर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हीनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र बिहार ट्याङ्कर चालक उपचालक सङ्घका बीचमा आपसी सहयोग आदानप्रदान गर्नेगरी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट अध्यक्ष ईश्वर लामा र बिहारका तर्फबाट अध्यक्ष चन्द्रप्रकाश सिंहले हस्ताक्षर गर्नुभएको छ ।