• १३ वैशाख २०८१, बिहिबार

पातिहाल्ने–लुकुम खण्डको मध्यपहाडी लोकमार्ग अलपत्र

blog

अलपत्र अवस्थामा रहेको रुकुमपूर्व भूमे गाउँपालिका –१ पातिहाल्ने–लुकुम खण्डको मध्यपहाडी लोकमार्ग । तस्बिरः जयमान बुढामगर

जयमान बुढामगर

रुकुमपूर्व, माघ १३ गते । राष्ट्रिय गौरवको आयोजनामध्येको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको भूमे गाउँपालिका –१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र परेको छ ।

१३ किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्रे तयारीको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२–७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि काम अलपत्रमा परेको छ । 

कालोपत्रेका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएको छ । कालोपत्रेका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि अलपत्र पारेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर होमनाथ पौडेलले बताउनुभयो ।

“कालोपत्रेका लागि पटक पटक ताकेता गरिराखियो, तर निर्माण व्यवसायले समयमै काम सम्पन्न गर्न सकेन्न” पौडेलले भन्नुभयो, “पछिल्लो समयमा ठेकेदार सम्पर्कविहीन भयो ।” 

यस खण्डमा कालोपत्रेका लागि ३८ करोड रुपियाँ हाराहारी बजेट थियो । ३० करोड बजेट खर्च हुँदा हालसम्म ८२ प्रतिशत काम भएको इञ्जिनियर पौडेलले बताउनुभयो । कालोपत्रेका लागि ग्राभेल, नाली कटिङ, ग्याबिन तथा जाली हाल्ने काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी–महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । 

समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीन पटकसम्म म्याद थप गरिसकिएको छ  । अहिले चौथो पटक आउँदो असार मसान्तसम्म म्याद थप गरिएको छ । 

काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । खिन्टी महादेव कन्स्ट्रक्सनलाई काम गर्न स्थानीयले तत्कालै काम नगर्न अनुरोध गरेका थिए । 

यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले काम गरेवापतको ज्याला नदिएको स्थानीय मजदुरले बताएका छन् । मजदुरले काम गरेवापतको पैसा नपाउनु दुःखद एको प्रजिअ सुनुवारले बताउनुभयो । नयाँ आएको निर्माण व्यवसायलाई काम गराउन बुधबार जिल्ला स्थित जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीयसँग छलफलबाट सहमति भएको उहाँले बताउनुभयो । 

यसअघि ज्याला नपाएका मजदुरलाई यकिन हिसाब किताब जिल्ला प्रशासनमा पेश गर्न प्रजिअले आग्रह गर्नुभएको छ । यकिन हिसाबकिताबको आवश्यक कागजपत्रको आधारमा  सम्पर्कविहीन रहेको सिद्धिशाही कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याइ मजदुरीलाई ज्याला दिलाउनेमा प्रशासनको तर्फबाट आफू हरदम प्रयास गरिराख्ने प्रजिअ सुनुवारले मजदुरलाई विश्वास दिलाउनु भएको छ । 

गौरवका आयोजना अलपत्रमा पर्नु भनेको दुर्भाग्य भएको जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो । “निर्माण व्यवसायले जिम्मा लिने अनि बीचमै विभिन्न बहानामा काम अलपत्र पार्नु भनेको राज्यलाई झुक्याउन खोज्नु हो” जिसस प्रमुख श्रेष्ठले भन्नुभयो, “निर्माण व्यवसायको पनि बाध्यता होेलान, तर जिम्मा लिइसकेपछि पछि हटेर तथा कामदेखि पन्छिएर समस्या समाधन हुँदैन ।”