• ८ वैशाख २०८१, शनिबार

पाँच अर्बको लगानीमा बुटवलमा केबलकार बन्दै

blog

निर्माणाधीन केवलकार । तस्वीर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, माघ १३ गते ।
बुटवलमा दुई ठूला केबलकारका परियोजना तीव्र रुपमा निर्माण भइरहेका छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजाने गरी केबलकार परियोजनाको काम तीव्ररुपमा भइरहेको छ ।

तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणधीन छन् । बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङमा स्थानान्तरण भएपछि बजार सुस्ताउने अनुमान गरिएकोमा यी दुई केबलकार निर्माण सम्पन्न भएको अवस्थामा बुटवल क्षेत्र ‘आर्थिक हब’का साथै ‘पर्यटकीय हब’ बन्ने अपेक्षा यहाँका व्यवसायीको अपेक्षा छ ।

रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ठूला होटलमा लगानी गरेका यहाँका व्यवसायी केबलकारले यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुने भन्दै हौसिएका छन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वल कसजु बुटवल मात्र नभई सिङ्गो रुपन्देहीले अब दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको बताए। यस्तै कोरोनापछि सुस्त बनेको बुटवलको आर्थिक गतिविधि पनि चलायमान हुने बताउनुहुन्छ ।

‘‘यो दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएका छौँ । केबलकार सुरु भएपछि अरू केही बाँकी संरचना निर्माणको काम पनि हामीले क्रमशः गर्छौँ । वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ। साथै वसन्तपुरमा रिसोर्टहरू बनाउने काम पनि जारी छन,’’ उहाँले गोरखापत्रसँग भन्नुभयो ।

लुम्बिनी र सिद्धार्थ केबलकार सञ्चालनपछि गर्मीमा अधिकतम ४२ डिग्री सेल्सियस रहने बुटवलबाट केही मिनेटको दूरीमै पाल्पाको चिसोमा पुगिनेछ । जहाँको तापक्रम १८ देखि २९ डिग्री सेल्सियस हुनेछ ।

बुटवल ३ बमघाटमा लुम्बिनी केबलकारको आधार स्टेसन



बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ वसन्तपुरमा छ । यो केबलकार व्यवसायी चन्द्र ढकालको हो ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै भारतीय पर्यटक धेरै भित्र्याउने लक्ष्यका साथ अहिले केबलकार निर्माणको कार्यलाई तीव्रता दिइएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो ।

‘‘यो दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएका छौँ । केबलकार सुरु भएपछि अरू केही बाँकी संरचना निर्माणको काम पनि हामीले क्रमशः गर्छौँ । वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । साथै वसन्तपुरमा रिसोर्टहरू बनाउने काम पनि जारी छ,’’ उहाँले भन्नुभयो ।

उहाँले साढे तीन अर्ब रुपियाँभन्दा धेरै लगानीमा पाँचतारे होटल र पार्कसहितका संरचना पनि अहिले निर्माणको क्रममा रहे जानकारी दिनुभयो । केवलकारका लागि आवश्यक सामाग्रीहरु बुटवलबाट हेलिकोप्टरले धमाधम ओसारिरहेको छ ।

१५० कोठाको पाँचतारे होटल वसन्तपुर डाँडामा बन्नेछ, यो निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने युवा व्यवसायी जगत पोखरेलको भनाइ छ ।

दुई महिनाभित्र सम्पन्न गर्नेगरी अहिले बुटवल र पाल्पातर्फका स्टेसन निर्माणको काम भइरहेको छ । केबलकारका लागि आवश्यक पोलहरू भने गाड्ने कार्य गरिसकिएको छ ।

सिद्धार्थ केबलकार पाल्पाको नुवाकोट पुग्ने



यता बुटवलको ऐतिहासिक एवम् पुरातात्विक महत्त्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकार पाल्पाको नुवाकोट पुग्नेछ ।

तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको लुम्बिनी केबलकारले बुटवल–३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ–३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ ।

त्यहाँ पनि बुटवल र नुवाकोट गढीमा अहिले स्टेसन निर्माणको काम भइरहेको छ । यो केबलकार अबको सात महिनाभित्र सञ्चालनमा आउने गरी निर्माणको कामलाई तीव्र पारिएको सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताउनुभयो ।

२३ महिना पहिले अर्थात् २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकारको शिलान्यास र फागुन ९ गते सिद्धार्थ केबलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नुभएको हो ।

पाँचतारे होटल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका दुईटा केबलकारमा निजी क्षेत्रको पाँच अर्ब रुपियाँभन्दा धेरै लगानी छ ।

लुम्बिनी केबलकारमा २५ वटा बाकस हुनेछन् । प्रतिगोन्डुला आठ यात्रु सवार गर्न सक्नेछन् । प्रतिघण्टा ६ सय यात्रु ओहोरदोहोर गर्न सक्ने अध्यक्ष ढकालले बताउनुभयो ।

नियमित रूपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको छ ।  केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउने गरी सरकारले स्वीकृति दिएको छ । लुम्बिनी केबलकारमा आईएमई ग्रुपको ७५ प्रतिशत लगानी र करिब २५ प्रतिशत लगानी बुटवलका उद्योगी व्यवसायीको छ ।


यता सिद्धार्थ केबलकारले पनि अहिले नुवाकोटमा सुविधासम्पन्न रिसोर्ट बनाइरहेको छ । त्यस्तै, बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र पनि बन्ने छ । त्यसैगरी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले शान्ति पार्क बनाउनेछ भने गुम्बा, भ्यूटावर, स्वास्थ्य केन्द्रलगायतका संरचना पनि बन्ने छन् ।

शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा आठ मिनेटमा पुग्न सकिने १.९४ किलोमिटर लम्बाइको केबलकारमा एउटा बाकसमा (गोन्डुला)मा आठ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला रहने जनाइएको छ । नियमित रूपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको छ । सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ । यी दुई आयोजना बनेपछि रुपन्देही क्षेत्रमा पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने अनुमान गरिएको छ ।