• १३ वैशाख २०८१, बिहिबार

प्रेमप्रसादको परिवारलाई अमेरिकाको टेक्सासबाट आर्थिक सहयोग

blog

काठमाडौं, माघ १३ गते । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई अमेरिकाको टेक्सासस्थित एक सामाजिक संस्थाले १ लाख १ हजार १ सय ५१ रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ ।

टेक्सासको डालस फोर्टवर्थ क्षेत्रमा विगत एक दशक अघिदेखि होमलेस (घरवारविहीन) हरुको क्षेत्रमा कार्यरत हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल इन्टरनेशनल (एचडिएनपी) ले  आचार्यका परिवारलाई सहयोगस्वरुप उक्त रकम प्रदान गर्न लागेको हो । संस्थामा आबद्ध सदस्यहरूबाट संकलन गरिएको उक्त रकम परिवारलाई हस्तान्तरण गरिने एचडिएनपी इन्टरनेशनलले जनाएको छ ।

आर्थिक कारणबाट आचार्यले आत्मदाह गरेको समाचारले प्रवासी नेपाली समुदाय स्तब्ध भएको भन्दै आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिन राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने संस्थाका प्रमुख देवी आचार्यले बताउनु भयो ।

विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेख्नुभएको थियो । 

एचडिएनपी इन्टरनेशनल सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै टेक्सास राज्य सरकारबाट पुरस्कृत नेपाली समुदायले स्थापना गरेको सामाजिक संस्था हो ।