• १२ वैशाख २०८१, बुधबार

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै

blog

काठमाडौं, माघ १३ गते । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि राखिएको हो ।

शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि राखिएको छ । यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।

सर्वोच्चले दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको  थियाे।