• ८ वैशाख २०८१, शनिबार

बालमैत्री वडामै बालविवाह

blog

खलङ्गा समाचारदाता

जाजरकोट, माघ १३ गते । तामझामसहित महत्त्वपूर्ण उपलब्धिका रूपमा बालमैत्री वडा घोषणा भएकै स्थानमा बालविवाह बढ्दै गएको छ। बालमैत्री घोषणा भएपछि कुशे गाउँपालिका–१ मा छवटा बालविवाह भएका छन्।  

नेपाल सरकारले ५१ वटा सूचक पूरा गरेका वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने कार्यविधि तयार पारेको छ। सोहीअनुसार कुशे गाउँपालिका–१ लाई गत वर्ष चैत १२ गते बालमैत्री वडा घोषणा गरिएको थियो।

गैरसरकारी संस्था सेभ दी चिल्ड्रेनलगायत संस्थाले सो वडालगायत क्षेत्रमा विगत वर्षदेखि बालबालिकाका अधिकार स्थापित गर्ने सवालमा ठूलो लगानी गर्दै आए पनि बालविवाहमा कुनै कमी आउन सकेको छैन। 

कुशे गाउँपालिका–१ का अध्यक्ष नरबहादुर सिंहले बालमैत्री वडा घोषणा भएपछि बालविवाह गर्ने सङ्ख्या बढेको बताउनुभयो। बालविवाह न्यूनीकरण गर्न अभिभावकको महत्त्वपूर्ण जिम्मेवारी हुने अध्यक्ष सिंहले बताउनुभयो। 

बालविवाह रोक्न अभिभावक र सरोकारवाला निकायबीच बेलाबेलामा छलफल भइरहे पनि त्यसले सुखद परिणाम निकाल्न नसकेको वडाध्यक्ष सिंहले बताउनुभयो। बालविवाह रोक्ने कार्यका अभियन्ताले नै बालविवाह गरेको बताइन्छ। सेभ दी चिल्डे«नका प्रमोद न्यौपानेले भने अभियन्ताको बालविवाहलाई इन्कार गर्दै उमेर पुगेरै विवाह गरेको दाबी गर्नुभयो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी सन्तोष निरौलाले बालविवाहसम्बन्धी कुनै निवेदन प्रहरी कार्यालयमा नपरेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले उमेर नपुगी भागी विवाह गरेका घटनालाई गाउँबस्तीमै मिलाउने गरेको जानकारी पाइए पनि त्यस्ता घटनाका उजुरी कार्यालयमा नआएको बताउनुभयो। 

नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले भने उमेर नपुगी गरेका विवाहका घटनामा उमेर पुगेपछि विवाह गर्ने सहमति गरी अभिभावकको जिम्मा लगाइएको बताउनुभयो। छेडागाड नगरपालिका–११ तथा कुशे गाउँपालिका–१ र ९ लाई बालमैत्री वडा घोषणा गरिएको थियो।