• १६ चैत २०८०, शुक्रबार

जनकपुरधामको वातावरण फोहोर गर्ने धेरै, सफा गर्ने थोरै

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, माघ १३ गते । जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको स्थायी राजधानीलाई सफासुग्घर राख्ने चेतनामूलक सन्देश यत्रतत्र भित्तामा लेखिएको भेटिन्छन्। प्रदेश राजधानीमा प्रायः सचेत वर्ग, पढेलेखेका र साक्षर नै बस्ने गरेको विश्वास गरिन्छ। तर त्यो चेतनामूलक सन्देश पढेर पनि नपढेजस्तै गर्ने, व्यवहारमा नउतार्नेको सङ्ख्या अत्यधिक रहेको आभास हुन थालेको छ।

घरभित्रको फोहोर सफा गरी सडकमै फाल्ने गरेको अग्रपङ्क्तिमा यहाँका औषधि पसल, स्वास्थ्य प्रयोगशाला बढी रहेका छन्। औषधि पसलको फोहोर, म्याद गुज्रिएको औषधि, प्रयोगशालामा प्रयोग भएको सुईलगायतका फोहोर सडकमै भेटिने गरेको सरसफाइ अभियानकर्मी धीरेन्द्र साहले बताउनुभयो। औषधि पसलेलाई सडकमा फोहोर नफाल्न र उपमहानगरपालिकाको फोहोर सङ्कलन गर्न आउने गाडीलाई फोहोर दिन धेरै पटक आग्रह गर्दा पनि बेवास्ता गर्दै आएको उहाँले बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, “फोहोर गर्ने धेरै छन् तर सफा गर्ने कम भेटिन्छन्।” 

“सीमित व्यक्तिले मात्र घर, पसलको फोहोर सङ्कलन गरी एक ठाउँमा राखेको हुन्छ,” उहाँले भन्नुभयो, “उपमहानगरपालिकाको फोहोर सङ्कलन गर्न आउने टिप्पर, ट्याक्टरलाई मात्र फोहोर दिन्छन्। तर अधिकांशले आफ्नै दैलोमा फोहोर थुपारेका हुन्छन्।”

जानकी माताको दर्शन, अध्ययन गर्न जनकपुरधाम आउने आन्तरिक र बाह्य भक्तजन, पर्यटकले यहाँ यत्रतत्र फोहोर देखेर कस्तो सन्देश लिएर फर्कंदै होलान् भन्ने कुरा नगरवासीले बुझ्न आवश्यक रहेको आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो। सरसफाइ अभियानसँगै नगरवासीलाई सचेत गराउन र फोहोर सडकमा फाल्न नदिन निगरानी बढाउनुपर्ने बताउँदै वातावरण र सरसफाइले मानिसको दैनिक जीवनमा ठूलो भूमिका खेल्ने गरेको उहाँको धारणा रहेको छ। 

सरसफाइ अभियानकर्ताले सामाजिक उत्तरदायित्व बोध गर्दै पटक–पटक जनकपुरधामस्थित विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्। पछिल्लो पटक यहाँको प्रसिद्ध दशरथ तलाउ र आसपासको क्षेत्रमा बृहत् सरसफाइ गरेको अभियानकर्मी पूजा साहले बताउनुभयो। 

उहाँका अनुसार अभियानकर्मीले सरसफाइ मामिलामा ‘नो कम्प्रोमाइज’ भन्दै दशरथ तलाउको डिलमा बृहत् सरसफाइसँगै त्यही अगाडिको सडकमा फोहोर फाल्दै गरेको औषधि पसलका सञ्चालकलाई सडकमा फोहोर नफाल्न सचेत पनि गराइएको उहाँले बताउनुभयो। 

बाहिरबाट आउने पर्यटक प्रायः जनकपुरधामको दशरथ तलाउ डिलमा रहेको यात्री निवास र पगलाबाबा धर्मशालामा बास बसेर आस्थाले दशरथ तलाउमा नुहाउने गरेको सरसफाइ अभियानमा सहभागी नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झाले भन्नुभयो, “पोखरी (दशरथ तलाउ)लाई सौन्दर्यीकरणका लागि चारैतिरबाट घेरिएर त्यहाँ बस्न कुर्सी बनाइएको छ। तर कुर्सी बस्नलायक छैन। फोहोरले बाटोबाट हिँड्न सहज छैन। तलाउ संरक्षण, सम्बद्र्धन नियमनकारी निकायको ध्यान नपुग्दा त्यसको सौन्दर्यमा कालो बादलजस्तै फोहोरले गर्दा कुरूप र अव्यवस्थित देखिएको उहाँको कथन थियो।

सरसफाइ अभियानमा आफन्त नेपालका जिल्ला संयोजक कविता यादव, इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका रेखा दत्त, जनकपुर जेसिजका सल्लाहकार राजेन्द्र साहलगायतले फोहोर स्थान चहार्दै सरसफाइमा जुट्ने गरेको अभियानका धीरेन्द्र साहले जानकारी दिनुभयो। अभियानकर्मीले बृहत् सरसफाइ अभियान, खानेपानी व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनमा सहयोग, वातावरण व्यवस्थापन, वृक्षरोपणजस्ता विभिन्न कार्यक्रम गर्दै आएका छन्।

फोहोर सङ्कलन, व्यवस्थापनका लागि तीव्र गतिका साथ काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ। फोहोर जथाभावी सडकमा फाल्नुभन्दा उपमहानगरको फोहोर सङ्कलन गाडी आएको बेला गाडीलाई मात्र फोहोर दिने बानी बसेमा फोहोरको अधिकांश समस्या समाधान हुने बताइएको छ। 

नगरको फोहोर सङ्कलन र व्यवस्थापनका लागि उपमहानगरपालिकाले ग्रामीण वडाका लागि छुट्टै ट्याक्टर हस्तान्तरण गरिसकेको छ। तत्काल वडा नं. १७ कनकपट्टीमा फोहोर व्यवस्थापन (डम्पिङसाइट) निर्माण गर्ने काम पनि भइरहेको छ। फोहोर व्यवस्थापनको दीर्घकालीन योजनाअन्तर्गत वडा नं. २४ बसैयाहामा ल्यान्डफिल्ड निर्माणका लागि जग्गा व्यवस्थापन कार्य अन्तिम चरणमा रहेको बताइएको छ।