• ८ वैशाख २०८१, शनिबार

वडास्तरीय सेवा लिन एक दिन

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ १३ गते । सर्लाहीको चारवटा पालिकाका चुरे भेगमा बसोबास गर्नेलाई वडा कार्यालयसम्म सेवा लिन आउँदा दिन बित्ने गरेको छ। चुरेका विकट बस्तीबाट फेदीमा रहेका वडा कार्यालयसम्म पुगेर फर्कंदा त्यस दिनको अरू काम छाड्नुपर्ने अवस्था रहेको स्थानीयले गुनासो गरेका छन्। 

सिन्धुलीसँग सीमा जोडिएको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको उत्तरी चुरे भेगका बासिन्दाले यस्तो समस्या भोग्नुपरिरहेको हो। ईश्वरपुर नगरपालिकाको वडा नं. १२, लालबन्दी नगरपालिकाको वडा नं. १२, १३, १४ र १५, हरिवन नगरपालिकाको वडा नं. १ र बागमती नगरपपालिकाको वडा नं. १ मा चुरेभेगका विकट बस्ती रहेका छन्। 

वडा कार्यालयसम्म झर्न घण्टौँ लाग्ने भएकाले चुरेवासीलाई जन्मदर्ता, नागरिकताको सिफारिस, विवाह दर्ता, मृत्युदर्तासहित वडाबाट प्रदान हुने अन्य सेवा लिन सास्ती खेपिरहेका छन्। 

लालबन्दी नगरपालिका–१४, कामीटारका दलबहादुर विश्वकर्माले लालबन्दी बजारमा रहेको वडा कार्यालयमा सेवा लिन आउँदा दिन बित्ने गरेको गुनासो गर्नुभयो। गाउँमा इन्टरनेटसहितका सुविधा नपुगेको भन्दै लालबन्दी–१४, नारायणखोलाका जनप्रतिनिधि र कर्मचारी लालबन्दी बजारमै वडा कार्यालय सञ्चालन गरेर बसिरहेका छन्। 

विश्वकर्माले वडा कार्यालय आफूहरूको पहुँचदेखि निकै टाढा रहेको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, सिन्धुलीछेउको हाम्रो गाउँबाट पूर्व–पश्चिम राजमार्ग (हाइवे)मा रहेको वडा कार्यालय आउन एक दिन पूरा खर्च हुन्छ। लालबन्दी बजारमा भेटिनुभएका विश्वर्माले भन्नुभयो, “हामी त वडा कार्यालय आउनुपरे बजारसमेत भरेर फर्किन्छौँ। बारम्बार यति टाढा आइरहन पाइँदैन।”

बागमती नगरपालिका वडा नम्बर १ मा पर्ने सिन्धुलीसँग सीमा जोडिएको गाउँका बासिन्दालाई पनि वडा कार्यालयसम्म आउन घण्टौँ खर्चिनुपर्छ। वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले पाखोभित्तामा बसोबास गर्नेलाई वडा कार्यालय आउन समस्या रहेको बताउनुभयो। 

वडाध्यक्ष पाख्रिनले भौगोलिक रूपमा ठूलो रहेको वडाका अधिकांश भाग चुरे पाखोमै पर्ने भएकाले सबैलाई फेदीमै झर्न सहज होस् भनेर साबिक गाउँ विकास समिति (गाविस) ढुङ्ग्रेखोलाकै भवनबाट वडा कार्यालय सञ्चालन गरिरहेको बताउनुभयो।

ईश्वरपुर नगरपालिका–१२, सिस्नेखर्कका हर्कबहादुर मोक्तानले घारिबथानमा रहेको वडा कार्यालयमा कुनै काम लिएर आए दिन बित्ने बताउनुभएको छ। “पाखैपाखो भएर तल वडा कार्यालयमा झर्नुपर्छ, तल पुगेर फर्कंदा दिन बित्छ,” मोक्तानले भन्नुभयो, “अत्यावश्यक काम पर्दाबाहेक वडा कार्यालय हामी यहाँका बासिन्दा कोही पनि पुग्दैनन्।” चुरे भेगका बासिन्दालाई फेदीमा रहेका वडा कार्यालयसँगै स्वास्थ्यचौकी पुग्न समस्या छ। “भूगोल ठूलो रहेको सिङ्गो गाविस अहिले एउटा वडा भएकाले टाढा पर्ने चुरे भेगका बासिन्दालाई वडा र स्वास्थ्यचौकीबाट सेवा लिन समस्या छ,” ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीबहादुर खत्रीले भन्नुभयो। सडक, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित चुरेका विकट बस्ती नगरपालिकामा परे पनि आफूहरूले नगरवासी भएको महसुस गर्न नपाएको स्थानीय बासिन्दा गुनासो गर्छन्।