• १६ चैत २०८०, शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि सेल्स मिसन कार्यक्रम

blog

काठमाडौँ, माघ १३ गते । नेपाल पर्यटन बोर्डले कोभिड–१९ पछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न भारतका विभिन्न सहरमा सेल्स मिसन सुरु गरेको छ । 

बोर्डले नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर अपरेटर्स (नाट्टा)सँगको सहकार्यमा मङ्गलबार भारतको वनारसमा, बुधबार गोखपुरमा र बिहीबार लखनउमा कार्यक्रम आयोजना गरिएको हो । 

बोर्डको वार्षिक कार्यक्रमअनुसार विभिन्न देशमा यस्ता कार्यक्रम भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “बोर्डको वार्षिक कार्यक्रमअनुसार पर्यटन व्यवसायीको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रम सुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौँ ।”

कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्वसायीले सहभागिता जनाएका छन् । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै वनारस र नेपालबीच सहकार्यमार्फत धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले भारतीयको आगमन बढाउन पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रहसमेत गरिएको छ ।