• ७ वैशाख २०८१, शुक्रबार

भैरहवा भन्सारमा राजश्व सकंलनमा आधाले कमी

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, माघ १३ गते । मुलुककै दोस्रो ठुुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा यसबर्ष बिगतमा भन्दा आधा मात्रै राजश्व सकंलन भएको छ । तथ्यांकले अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा झण्डै आधाले राजश्व संकलनमा गिरावट आएको हो ।

गत आर्थिक वर्ष २०७८–२०७९ को पुस मसान्तसम्म बेलहिया नाका हुँदै १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्ष २०७९–२०८० मा भने १ खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु मात्रै आयात भएको छ । यसबाट ३५ अर्ब ४४ करोड मात्रै राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिनुुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमी आएको छ ।  भन्सार प्रमुख पौडेलका अनुसार केही मालवस्तु आयात गर्दा अनिवार्य मार्जिन राख्नु पर्ने र पैठारीमा लगाइएका प्रतिबन्धका कारण राजश्व संकलन यस वर्ष खुम्चिएको हो । पछिल्ला दिनहरुमा सरकारले  यो प्रावधान हटाएकाले राजश्वमा बृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।

सरकारले जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नु पर्ने व्यवस्था गराएको थियो । जसले गर्दा यी वस्तु आयात निकै कम थियो । भन्सार कार्यालयका अनुसार अनिवार्य मार्जिन राख्नु पर्ने प्रावधानका कारण अघिल्लो वर्ष भन्दा यस वर्ष ती वस्तुबाट २३ अर्ब ८९ करोड राजश्व असुली कमी भएको छ । यस्तै, जिप, कार र भ्यान बाहेक पैठारी प्रतिबन्ध लगाइएका अन्य बस्तुबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष ३ अर्ब ३५ करोड राजश्व असुली कमी भएको छ । यस्तै, विगतका वर्षहरुमा नियमित आयात हुने वस्तु पनि यस वर्ष घटेको छ । यसबाट ४ अर्ब ४९ करोड राजश्व प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ । 

चलु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य तोकेको छ । आर्थिक वर्षको आधा समयावधि घर्किसकेकाले यो लक्ष्य पूरा गर्न भन्सारलाई कठिन छ । ‘तोकिएको लक्ष्य पूरा गर्न हामीले राजश्व चुहावटलाई नियन्त्रण गर्ने, गस्ती गर्ने, चेकजाँचमा थप कडाइ गर्ने गरेका छौं’, भन्सार प्रमुख पौडेलले भन्नुुभयो, ‘राजश्व संकलनमा यसबाट केही सुधार हुने अपेक्षा छ ।’