• १२ वैशाख २०८१, बुधबार

दोलखामा किवीले पाएन बजार

blog

चरीकोट समाचारदाता

चरीकोट, माघ १३ गते । राम्रो बजार मूल्य पाउने आसमा किवी खेतीमा हौसिएका दोलखाका किसान उत्पादनले उचित बजार नपाउँदा निराश बनेका छन् । किवी उत्पादन राम्रो भए पनि बजार नपाएको उनीहरूको गुनासो छ ।

स्विस सरकारको परियोजना चल्दा बसेका स्विस नागरिकले २०४४ सालमा चरीकोट सिमपानीका श्याम खड्काको घरमा किवी रोपेका थिए तर आफूले त्यसको २० वर्षपछि मात्रै उक्त फल किवी भएको थाहा पाएको खड्काले बताउनुभयो । 

खड्का आफू पहिलो व्यावसायिक किवी किसान भएको दाबी गर्नुहुन्छ । किसानले व्यावसायिक रूपमा किवी खेतीलाई विस्तार गरे पनि अहिले भने बजारको समस्या रहेको उहाँले बताउनुभयो । 

अर्का किसान शैलुङ गाउँपालिका–७, फस्कुका अन्जन बुढाथोकीले मूल्य राम्रो पाउने आशमा किवीलाई आफ्नै घरमा भण्डारण गरेर राख्नुभएको छ तर माघ लागिसक्दा पनि उहाँको किवीले बजार पाउन सकेको छैन । भण्डारण गरेको किवी घरमै कुहिने चिन्ता रहेको बुढाथोकीले बताउनुभयो । गत वर्ष यतिखेरसम्म उहाँले किवीबाट सात लाख रुपियाँ आम्दानी लिइसक्नुभएको थियो । 

उहाँहरू मात्र होइन, राम्रो आम्दानी हुन्छ भनेर किवी खेती सुरु गरेका दोलखाका अधिकांश किसानको समस्या उस्तै छ । हरेक वर्ष किवीको उत्पादन बढिरहेको छ र बजार बढेको छैन । 

यस जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किवी जोन कार्यक्रम सञ्चालन भएको छ । यसअघि एसियाली विकास बैङ्कको अनुदानमा हिमाली परियोजनाले पनि जिल्लाका किसानलाई दुई करोड रुपियाँभन्दा बढी लगानी गरेको थियो तर हिमाली परियोजना जिल्लामा असफल भए पनि किवीमा भने सफल बनेको थियो ।

किसान किवी खेतीमा आकर्षित भएकाले अब उत्पादन र यसको बजारीकरणको व्यवस्थापनमा ध्यान दिनुपर्ने भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले बताउनुभयो । नगरपालिकाले किसानको बजार अभावको समस्याको समाधान गर्ने गरी कार्यक्रम ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।