• १६ चैत २०८०, शुक्रबार

शिक्षाको गुणस्तर सुधारमा राजनीतिक चिन्तनको कमी : शिक्षामन्त्री

blog

कार्यक्रममा सहभागी हुनुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल (बीच) मा । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन 

काठमाडौँ, माघ १२ गते । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तर सुधारबारे राजनीतिक क्षेत्रमा अत्यन्तै कम चिन्तन हुने गरेको बताउनुभएको छ । 

पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका हीरक जयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनुभएको हो ।

देशमा निजी र सार्वजनिक विद्यालयमा दिइने शिक्षामा देखिएको भिन्नताले भविष्यमा विकराल समस्या ल्याउने सक्ने चिन्ता व्यक्त गर्दै मन्त्री खनालले आफ्नो राजनीतिक यात्रा अघि १० वर्षदेखि दुर्गममा रहेका सार्वजनिक विद्यालय सुधारमा लागेको  बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री खनाल ।

पद्मकन्या विद्याअश्रमले स्तरीय र सीपमूलक शिक्षा प्रदान गर्नमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । 

मन्त्री खनालले भन्नुभयो, “शिक्षा, स्वास्थ्य रोजगारीको क्षेत्रमा राजनीतिक वृत्तमा जति चर्चा गर्नुपर्दथ्यो । त्यो भएको छैन, अबको चिन्तन त्यतातर्फ केन्द्रित हुनेछ ।’’

 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रीता तिवारीले स्तरीय शिक्षा प्रदान गर्ने सरकारी अभियानमा आफूहरू सधैँ लागि रहने बताउनुभयो । 


सो अवसरमा बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले  स्कुलका शिक्षक, विद्यालयका पूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरू तथा विद्यालयका दाताहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य दीपेन्द्र श्रेष्ठ तथा सुरजचन्द्र लामिछानेलगायतको उपस्थिति थियो ।