• १३ वैशाख २०८१, बिहिबार

ढुङ्गेसाँघुमा चिकित्सक पुगेपछि सेवाग्राहीलाई राहत

blog

ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा डा.नवराज चपागाईंलाई स्वागत गर्नुहुँदै मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १२ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक (डाक्टर) पुगेपछि सेवाग्राहीलाई राहत पुग्ने भएको छ। ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा डा.नवराज चपागाईँ पुगेपछि सर्वसाधारण सेवाग्राहीलाई राहत पुग्ने भएको हो। 

आधारभूत अस्पताल अर्थात् १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न लागिएको ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत स्तरको चिकित्सक पुगेका हुन्। गाउँपालिकाको पहलमा स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर चपागाईँ पुगेपछि सर्वसाधारणलाई राहत मिल्ने भएको हो। 

साबिक तीन वटा गाविस समेटिएको मैवाखोला गाउँपालिकासहित जिल्लाको पश्चिमी आठराई त्रिवेणी र मेरिङ्देन गाउँपालिकाका नागरिकलाईसमेत राहत पुग्ने भएको छ। ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेपछि सेवाग्राहीलाई ठूलो राहत मिलेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो। 

मैवाखोला र मेरिङ्देनका छ–छ वटा वडा तथा आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटा वडाका सर्वसाधारणलाई राहत पुग्ने भएको अध्यक्ष वनेमले बताउनुभयो। दक्ष र अनुभवी चिकित्सक पुगेपछि विशेषज्ञबाहेक बाँकी उपचार सेवाका लागि सेवाग्राहीले जिल्ला बाहिर वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ। 

हालसम्म स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचार सेवा लिनका लागि सर्वसाधारणले मोटो खर्च गरेर सदरमुकाम फुङ्लिङसहित अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो। बिहीबारदेखि गाउँमै अर्थात् ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेसँगै बिरामी अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो। 

तामाङका अनुसार चिकित्सक नहुँदा समयमा उपचार सेवा नपाएर ग्रामीण क्षेत्रका कतिपय सर्वसाधारणले ज्यानसमेत गुमाउनुपरेको थियो। यता प्रसूति, रक्तश्रापलगायत कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल आफ्नै क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र जान र चिकित्सकमार्फत आवश्यक उपचार सेवा साथै परामर्श लिनका लागि गाउँपालिकाले सर्वसाधारणलाई आह्वानसमेत गरेको छ।