• ६ चैत २०८०, मङ्गलबार

सडेको मासु बेच्ने पसललाई कारबाही

blog

तौलिहवास्थित मासु पसलमा अनुगमन गरिदै । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा, माघ १२ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित सडेको र फोहर मासु बेच्ने दुई मासु पसललाई कारबाही गरिएको छ । तौलिहवाको हाटबजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिवाना गरिएको हो । 

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधिहरूका अगुवाइमा गरिएको अनुगमनबाट सडेको मासु फेला परेको थियो । तौलिहवामा रहेका मासु पसलको संयुक्त अनुगमन र निरीक्षणका क्रममा ती पसललाई जरिवाना तिराइएको विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद खनालले बताउनुभयो । 

सद्दाम मासु पसल अत्यन्तै फोहर र दुर्गन्धित, व्यवसायको नवीकरण नभएको लगायतको कारणले जरिवाना गरिएको उहाँले बताउनुभयो । यस्तै, अब्दुल मासु पसलमा कुखुरा र खसीको सडेको मासु भेटिएको छ । अनुगमन टोलीलाई देखेपछि हतार–हतार मासु पसल सञ्चालन मासु खाटमुनि लुकाएका थिए । 

अनुगमन टोलीले निरीक्षण गरेपछि फेला परेको मासु जफत गरी अब्दुल कुखुरा मासु पसललाई तीन हजार जरिवाना समेत गरिएको छ । जनगुनासो बढेपछि तौलिहवास्थित हाटबजारका १० र बाणगंगा नगरपालिका भित्रका दर्जन बढी मासु पसलमा अनुगमन गरिएको थियो । बाणगंगामा गरिएको अनुगमनमा अधिकांश मासु पसल दर्ताविनै सञ्चालनमा रहेको, सरसफाइ नभएको भेटिएको प्रमुख खनालले बताउनुभयो । 

कारबाही गरिएको ती दुई पसलसहित इस्लाम मासु पसल, अजमेरी, मोहम्मद फिड एन्ड चिकेन, अब्दुल कुखुरा मासु पसल, स्माइल फ्रेस हाउस, सलीम मासु पसल, समीउद्दीन र अख्तर मासु पसलको अनुगमन गरिएको थियो । पशु वधशाला तथा मासु जाँच ऐन २०५५ अनुसार वधशालाको मापदण्ड बनाइएको छ । 

अनुगमन गरिएको सबै वधशालाहरू मापदण्डअनुसार सञ्चालन भएका छैनन् । सबै वधशालामा फोहर र अव्यवस्थित छन् । यस्तै, सरसफाइमा कुनै ध्यान दिइएको छैन । व्यवसायको नवीकरण नभएको, डिजिटल तराजु नभएको लगायत भेटिएका छन् ।