• ८ वैशाख २०८१, शनिबार

पाठेघरको मुखको क्यान्सर : २१ वर्ष पुगेपछि अनिवार्य जाँच गर्न चिकित्सकको सुझाव

पाठेघर मुखको क्यान्सरले प्रत्येक दिन छ जनाको मृत्यु

blog

क्यान्सर र यसको उपचारबारे विशेषज्ञसँग भिडियो वार्ता 

काठमाडौं, माघ १२ गते। विश्वमा हरेक वर्ष सात लाख २५ हजारमा पाठेघरको मुखको क्यान्सर लाग्ने गर्छ। नेपालमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो। ग्लोबल क्यानको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ६ जनाको मृत्यु हुन्छ। क्यान्सर रोग विशषज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको क्यान्सर भनिन्छ। 

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणले गर्दा हुने डा. शाहीको भनाइ छ। उहाँका अनुसार ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन फ्यापिलोमा भाइरस’को  सङ्क्रमणले गर्दा हुन्छ। स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका अनुसार कलिलो उमेरमा विवाह, सानै उमेरमा यौनसम्पर्क, एक वा सोभन्दा बढी पुरुषसँग यौनसम्पर्क गर्ने, बढी सन्तान जन्माउने, खानपानमा ध्यान नदिने, कुपोषण भएका  र धूमपान गर्ने महिला पाठेघरको क्यान्सरको जोखिममा हुन्छन्। 

फोहोर गनाउने पानी आउने, यौनसम्पर्कपछि रगत देखिने, महिनावारीको बीचबीचमा रगत देखिनु, ढाड, कम्मर, तल्लो पेट दुख्नु, हातखुट्टा सुन्निने जस्ता लक्षण लिएर अस्पताल पुग्ने प्रा. डा. भोला रिजाल बताउनुहुन्छ। भीआईए वा प्याप स्मेर टेस्ट गरेर कुनै खराबी छ कि छैन भनेर पत्ता लगाउन सकिने उहाँको भनाइ छ। डा.शाहीका अनुसार भीआईए टेस्ट गर्दा पाठेघरको मुखमा पाँच प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रङ परिवर्तन भएको हेर्ने गरिन्छ। यो परीक्षण महिलाको पाठेघरको मुखको श्रावमा भएका कोष र कोषिका सामान्य छन् वा असामान्य छन् वा क्यान्सर हुनसक्ने सम्भावना छ कि छैन भनेर जाँच्ने डा. शाही बताउनुहुन्छ।  उहाँ भन्नुहुन्छ, “प्याप टेस्टले पाठेघरको मुखमा आएका परिवर्तन जस्तै सङ्क्रमण, क्यान्सर हुने सम्भावना वा क्यान्सर छ भने पत्ता लगाउन सकिन्छ। यसमा पाठेघरको मुखमा रहने तरल पदार्थको जाँच गरिन्छ।” सुरुवाती चरणमा नै  राेग पत्ता लाग्यो भने यसको उपचार गर्न सहज हुने डा. शाहीको भनाइ छ।

क्यान्सर हुने बित्तिकै काटेर फाल्नुपर्दैन 

क्यान्सर हुने बित्तिकै पाठेघर काटेर फाल्नुपर्छ भन्ने मानिसको गलत बुझाइ रहेको डा. शाहीको भनाइ छ। उहाँले भन्नुभयो, “घाउ हुनासाथ पाठेघर निकालेर फाल्नुपर्छ भन्ने बिरामीको बुझाइ छ, जुन गलत हो। घाउ कुन अवस्थाको हो। त्यो हेर्नुपर्छ, कुनै बेला घाउको मात्रा अनुसार उपचार गर्नुपर्ने हुन्छ।” 

चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरको लागि सुरुवाती चरणमा शल्यक्रियामार्फत ट्युमर फालिन्छ। क्यान्सर कुन चरणमा छ त्यही अनुसार उपचार विधि फरक फरक हुने डा. शाहीको भनाइ छ।  पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन किशोरीलाई ह्युमन फ्यापिलो भाइरसविरुद्धको खोप लगाउन डा. शाहीको सुझाव छ। 

उहाँ भन्नुहुन्छ, “पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन किशोरीलाई ह्युमन फ्यापिलो भाइरसविरुद्धको खोप लगाउन सकिन्छ। नेपालमा पनि विभिन्न अस्पतालले खोप लगाउन सुरु गरिसकेका छन्। खोप सुरक्षित भएकाले आफ्ना छोरीलाई ढुक्कसँग खोप लगाउन सकिन्छ।’’ खोपका अतिरिक्त आफ्नो सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। रोग लाग्नै नदिन, रोग लागेको छ कि छैन वा सम्भावना कति छ भनेर २१ वर्ष पुगेपछि पाठेघरको पानी जाँच गर्न डा. शाहीले अनुरोध गर्नुभएको छ। 

डा. शाहीका अनुसार भीआइए वा प्याप स्मेर टेस्ट गरेर क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ। त्यसैले हरेक तीन वर्षमा सो जाँच गर्न उहाँको सुझाव छ। रोग लुकाएमा चिकित्सकले केही गर्न नसक्ने भन्दै समस्या देखिने बित्तिकै जाँच गर्न डा. शाहीले सुझाव दिनुभएको छ। जनवरी महिनालाई विश्वभर पाठेघर सचेतना महिनाका रुपमा मनाइन्छ। सोही अवसरमा गोरखापत्र अनलाइनका लागि स्त्रीरोग विशेषज्ञ प्रा.डा.भोला रिजाल र क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको कुराकानीका आधारमा तयार पारिएको भिडियो सामग्री:

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।