• ८ वैशाख २०८१, शनिबार

सरुवा रोग अस्पतालबाट सात हजार बढी डेंगुका बिरामीले लिए सेवा

blog

कार्यक्रम उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री पद्‍म गिरी साथमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताका निर्देशक डा. मनिषा रावललगायत । तस्बिर : कविता थापा

काठमाडौं, माघ १० गते। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपिडीमा सात हजार नौ सय जना डेंगुका बिरामीको उपचार भएको छ। 

अस्पतालको ८९ औँ वार्षिक उत्सव कार्यक्रममा अस्पतालका निर्देशक डा. मनिषा रावलकाले अस्पतालको वार्षिक प्रतिवेदन सुनाउँदै अस्पतालको ओपिडीबाट सात हजार नौ सय डेंगुका बिरामीले सेवा लिएको बताउनुभयो। जसमध्ये ६१० जना अस्पतालमा भर्ना गरिएको छ। उहाँका अनुसार अस्पतालले कोरोना महामारी फैलिएको पहिलो केसदेखि हालसम्म २३ सय १८ जना कोरोनाका बिरामीको उपचार गरेको थियो। 

जसमध्ये नौ सयलाई आइसियु र ४७५ जनालाई भेन्टिलेटर आवश्यक परेको थियो। अस्पताले १४ महिनामा एक लाख १२ जना जनालाई कोरोनाविरुद्धको खोप लगाएको उहाँले बताउनुभयो। 

त्यसैगरी, अस्पतालले सामाजिक सेवा इकाईबाट १४ सय ७५ जनालाई निःशुल्क सेवा प्रदान गरेको छ। अस्पतालले २०७९ असार २ गते काठमाडौं उपत्यकामा फैलिएको हैजाका २७ जना बिरामी उपचार गरेको उहाँले जानकारी दिनुभयो। 

अस्पतालमा रहेको एआरटी सेन्टरबाट २१ सय ८५ जना एचआइभीका  बिरामीले सेवा लिएका छन्। अस्पतालमा गत वर्षबाट टेलिमेडिसिनमार्फत लेप्रोसी रेफरल क्लिनिक स्थापना गरेर कुष्टरोगका बिरामी सेवा दिइरहेको डा. रावलको दाबी छ। 

अस्पतालले विशेषज्ञ ओपिडीबाट बाल स्वास्थ्य, छाला तथा यौन रोग, टेलिमेडिसिन सेवा दिइरहेको डा. रावलले जानकारी दिनुभयो।  कुकुर र अन्य जनावरले टोकेका बिरामीलाई अस्पतालको एनिमल बाइट क्लिनिकबाट दैनिक तीनदेखि चार सयको हारहारीमा रेबिजविरुद्ध खोप लगाइएको उहाँको भनाइ छ। 

अस्पतालले कोरोना कालमा चार शैय्या बिस्तारा गरेर २४ शैय्याको आइसियु बनाएको छ। जसमा अहिले एचआइभीका बिरामीले सेवा लिइरहेका छन्। 

डा. रावलले अस्पतालमा ३६५ दिन जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जोखिम भत्ताको व्यवस्था गर्न स्वास्थ्यमन्त्री पदम गिरी समक्ष अनुरोध गर्नुभएको छ। 

निर्देशक डा. रावलका अनुसार केही महिनाभित्र सरकारको नीति तथा कार्यक्रममा परेको तीन सय शैय्याको अस्पताल विस्तार हुँदै छ। त्यसको लागि टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ। नयाँ भवन निर्माणको कार्य अगाडि बढ्दा सेवा दिन समस्या हुने भन्दै उहाँले यसमा सहयोग गर्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले अस्पताल विस्तार गर्दा स्वास्थ्य सेवा प्रभावित हुन नदिन निर्देशन दिनुभएको छ। 

मन्त्री गिरीले अस्पतालको भवन निर्माण गर्दा अस्थायी रूपमा सेवा अगाडि बढाउने गरी सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। यो अस्पताल वि.सं. १९९० को भूकम्पपछि कालाजारको महामारी फैलिएपछि स्थापना भएको हो। यो अस्पताल २०५३ साल माघ १० गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामबाट सञ्चालन हुँदै आएको छ।