• ४ वैशाख २०८१, मङ्गलबार

खेल मिलेमतोको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

blog

महबुब आलम र आदिल अन्सारी ।

काठमाडौं, माघ ९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

खेल मिलेमतोमा संलग्न भएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेलाडीमाथि अनुसन्धान गरेको थियो । पूर्व क्रिकेटर आलमलाई सोमबार दिउँसो १:०० बजे विराटनगरमा पक्राउगरी प्लेनमार्फत काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । 

यस्तै अन्सारीलाई सप्तरीको राजविराजबाट सीआईबीकै टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । सीआईबीले पुस ९ देखि २७ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको सूचनाका आधारमा अनुसन्धान गरिरहेको छ ।

खेल मिलेमतो भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पनि छानबिन गरिहरेको छ ।

क्यानले यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी भारतको सेभन थ्री स्पोर्ट्सलाई दिएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।