• १५ चैत २०८०, बिहिबार

अवलोकनकर्ताको आकर्षणमा फोटो प्रदर्शनी

blog

अभिरुचिपूर्वक फोटो प्रदर्शनीको अवलोकन गर्दै एक स्थानीय । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे 

हिलेमार्ग (धनकुट), माघ ९ गते । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवम् पाँचौँ धनकुटा महोत्सवमा जारी फोटो प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ । 

फोटो पत्रकार महासङ्घ धनकुटा शाखाले वि.स. २०१८ देखि २०२३ सम्मका तस्बिरहरूसमेत प्रदर्शनीमा राखिएपछि महोत्सव अवलोकन गर्न आउनेहरूको ध्यान केन्द्रित गरेको हो । धनकुटा जिल्लाका पुराना तथा सबै स्थानीय तहका पर्यटकीय क्षेत्रहरूलाई समेटिएको फोटो प्रदर्शनीमा राखिएपछि अवलोकनकर्ताहरूको आकर्षण बढेको फोटो पत्रकार महासङ्घ धनकुटाका सचिव ईश्वर थापाले जानकारी दिनुभयो ।


पुराना फोटोले महोत्सवमा आकर्षण बढाएको स्थानीय राजेन्द्र प्रधान बताउनु हुन्छ । पर्यटकीयसँगै पुरानो फोटोले धनकुटाको पुरानो र अहिलेको वास्तविकता उजागर गरेकाले पनि यसमा आकर्षण बढेको उहाँको भनाइ छ ।

चौथो दिनसम्म २५ सयभन्दा बढीले फोटो अवलोकन गरिसकेको आयोजकले जनाएको छ । पर्यटकीय ठाउँ, मनोरम प्राकृतिक दृश्य, कृषि, घरेलु उत्पादनसहित मौलिक जनजीवन झल्कने आकर्षक फोटोहरू प्रदर्शनीमा रहेका छन् ।

धनकुटाका पुराना तस्बिरहरू तत्कालीन नेपाल भ्रमणमा आएका विभिन्न विदेशी नागरिकले खिचेका हुन्, जसलाई स्थानीय सुरेन्द्र आठपहरियाले सुरक्षित गर्नुभएको हो । फोटो अवलोकन पछि धनकुटाको सबै ठाउँमा पुग्न नसकेपछि जिल्लाको सबै ठाउँलाई फोटोबाट हेर्न सकिने अवस्था रहेको फोटो प्रदर्शनीमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताउनु भयो । फोटो प्रदर्शनीले धनकुटाको विगत र वर्तमानको बारेमा अध्ययन गर्नसमेत सघाउ पुराएको उहाँको भनाइ छ ।

धनकुटा उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी महोत्सवमा समावेश गरिएको फोटो प्रदर्शनीले कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुराउने लक्ष्य लिएको उद्योग वाणिज्य सङ्घका सचिव श्रीराम रायमाझीले बताउनुभयो ।