• १५ चैत २०८०, बिहिबार

शैक्षिक र पूर्वाधार विकास एकसाथ : मुख्यमन्त्री गिरी

blog

स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री लिला गिरी । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा,  माघ ९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाइने बताउनुभएको छ । रुपन्देहीको सियारीमा पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउनुभयो ।

दक्ष जनशक्ति र स्थानीयस्तरमा खपत हुने जनशक्ति उत्पादनका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिने भन्दै मुख्यमन्त्री गिरीले समृद्धि हासिल गर्न चाहिने जनशक्ति उत्पादनमा मुख्य ध्यान दिने बताउनुभयो । उहाँले शिक्षालाई प्राथमिकतामा राखेर बजेटको प्रबन्ध गरिने भन्दै शिक्षकलाई विद्यालयको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन पनि आग्रह गर्नुभयो । 

उहाँले प्रदेश सरकारले अब शिक्षा क्षेत्रको विकासका लागि लगानी बढाउने जानकारी पनि दिनुभयो । शिक्षा क्षेत्रको विकासपछि मात्रै समग्र मुलुकको विकास हुने भन्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । प्रदेशका अधिकांश सामुदायिक विद्यालयले सीमित स्रोत र साधनका बाबजुद उत्कृष्ट नतिजा हासिल गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व शिक्षामन्त्री तथा प्रदेशसभा सदस्य सांसद वसिउद्दिन खां, प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, समरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, सियारी गाउँपालिकाका पुर्वअध्यक्ष अयोध्याप्रसाद चौधरी, विद्यालयका प्रथम विद्यावारिधि हासिल गर्नुभएका डा. विष्णुप्रसाद मरासिनी लगायतले विद्यालयको उन्नति र प्रगतिका लागि आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । 

त्यस्तै, नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेशका उपमहासचिव मथुरा यादव, नेपाल शिक्षक सङ्गठनका रुपन्देही अध्यक्ष धनिश्वर गौतम, विद्यालयका पूर्व प्रधानाध्यापक रामकेश पाल, विद्यालयका सहप्राचार्य इन्द्रप्रसाद तिवारीलगायतले बोल्दै सियारीको शैक्षिक विकासका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । 

विद्यालयले स्थापनाको ५० वर्ष पार गरेको अवसरमा स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले माघ १२ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने विद्यालयका प्राचार्य डिलाराख खनालले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको अवसरमा मुख्यमन्त्री गिरीले स्वर्ण स्तम्भ, प्राविधिक भवन उद्घाटन गर्नुभयो ।