• १५ चैत २०८०, बिहिबार

रेशम चौधरीको रिहाइका लागि सकारात्मक छु : मुख्यमन्त्री रावल

blog

सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, माघ ९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले कैदी जीवन बिताइरहेका रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक रहेको बताउनुभएको छ ।  आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री रावलले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘मानवीय संवेदना समुदायबीचको द्वन्द्वलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ । सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ । रेशमजी मेरो समाजको कम्पोनेन्ट हो, त्यत्ति बुझ्न जरुरी छ ।’’ त्यस्तै, उहाँले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो गर्नुभयो ।

मुख्यमन्त्री रालवले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिका लागि नभएको बताउनुहुँदै अबको पाँच वर्षको कार्यकालमा विगतलाई सम्मान गर्दै वर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘राजनीतिको सारथिका रूपमा मलाई आम जनताले निर्वाचित गराएका छन् । यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकाङ्क्षाका लागि पद र प्रतिष्ठा होइन । मूलतः यो ती ग्रामीण क्षेत्रका नागरिकको समस्या, पीडा, राष्ट्र र राष्ट्रियता, समावेशिताको मुद्दासँग जोडिएको छ ।’’

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उहाँले औँल्याउनुभयो ।

‘‘सुदूरपश्चिमका लाखौँलाख झुपडीको एकत्वलाई मैले हेर्न जरुरी छ । सामाजिक विकृति र विसङ्गतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ । काठमाडौंमा कुमारी प्रथाको देवत्व भयझैँ सुदूरका सामाजिक–सांस्कृतिक परम्परालाई उजागर गरेर भोलिका दिनमा उत्पादनका रूपमा ल्याउने चुनौती पनि मसँग छ ।,’’ उहाँले भन्नुभयो ।

सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालोका लागि पनि उहाँले आग्रह गर्नुभयो । ‘‘अब सुदूर होइन, सुगम कसरी बनाउन सकिन्छ ? यो क्षेत्रका पीडा उजागर गरेर समाधान कसरी गर्न सकिन्छ, अब यसमा हातेमालो गरौँ ।,’’ मुख्यमन्त्री रालवले भन्नुभयो, ‘‘देउडा कल्चरको मान्छे हुँ म, सखिया नृत्य नाच्ने क्षेत्रको मान्छे हुँ म । होली नाच नाच्ने क्षेत्रको मान्छे हुँ । यो कल्चरल फ्युजनलाई लिएर हामी कसरी अघि बढ्न सक्छौँ ? यहाँहरूसँग हातेमालो गर्न चाहान्छौं ।’’

साथै, आफूले सुदूरले खोजेको समृद्धि जनताका सामान्य कुरा शिक्षा, स्वास्थ्य, रोजगारीको सिर्जनालगायत भएको उहाँको भनाइ छ । सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दवाईको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी रहेको उहाँले बताउनुभयो ।

किताबमा आधारित शैक्षिक पद्धतिलाई परिवर्तन गरी भोलिका दिनमा सुदूर र सिङ्गो देशलाई आवश्यक पर्ने जनशक्ति विकास गर्नसक्ने खालको शिक्षा पद्धतिको विकास गर्नु अहिलेको आवश्यकता भएको उहाँको ठहर छ ।