• १६ चैत २०८०, शुक्रबार

प्रभावकारी बन्दै ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’

blog

रास्कोटका सङ्गीता लुवारको हेलिकोप्टरद्वारा उद्धार गरिँदै । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, माघ ९ गते । गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएको छ । सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दैआएको स्थानीय नागरिकको भनाइ छ ।

कालीकोटको रास्कोट नगरपालिका वडा –८ बस्ने गणेश लुवारकी १७ वर्षीया पत्नी सङ्गीता लुवारलाई सुत्केरी बेथा लाग्यो । सामान्य परिवारमा लुवारले श्रीमतीको स्थानीय स्वास्थ्य संस्थाभन्दा बाहिर सुत्केरी गराउन सक्ने अवस्था थिएन । गरिबीकै कारणले भगवान् भरोसामा श्रीमतीलाई लुवारले घरमै राख्नुभयो । 

घरमै बच्चा जन्माएकी सङ्गीतालाई उच्च रक्तस्राव भएपछि उहाँलाई आफन्तले नजिकैको गौतुकोटको अस्पताल पुगायो । अस्पताल भर्ना हुनुभएकी सङ्गीताको उच्च रक्तस्राव सुरु भएपछि पाँच पोका रगत चढाइए पनि रक्तस्राव रोकिएन । सङ्गीताको बाल विवाह भएका कारणले पनि त्यो समस्या आएको स्वास्थ्यकर्मीको भनाइ छ । 

हेलिकोप्टरमार्फत सङ्गीताको माघ २ गते उद्धार भएपछि ज्यान जोगियो । सामान्य परिवारका लुवारले सरकार भएको आफूलाई महसुस भएको प्रतिक्रिया दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रदेश सरकारको समन्वयमा उहाँको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । 

रास्कोट ८ का यशोदा बरालले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दैगएको बताउनुभयो । उहाँले त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ ।

सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ । प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्यु दर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रम अन्तर्गत कालीकोटमा आव २०७८-८९ मा १३, चालु आवको साउनदेखि माघसम्म ६ वटा हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

प्रमुख जिल्लाअधिकारी रामहरि शर्माले दुई वर्षयता १९ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको बताउनुभयो । १९ जनामा १३ जना २० वर्षमुनिका रहेका छन् । जसले बालविवाह गरेको प्रमाणित हुन्छ । गर्भवती र सुत्केरीले प्रसव अवस्थाका कारण ज्यान गुमाउनु परेकोमा हाल त्यो सङ्ख्या घटेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ । 

महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रूपियाँ खर्च सरकारले व्यहोर्दैआएको छ । राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दैआएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ ।