राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै अब राष्ट्रमा स्थिरता

गोरखापत्र समाचारदाता-
काठमाडौं, फागुन २९ गते । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै अब राष्ट्रमा स्थिरता आई विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रमुख आयुक्त डा. यादवले २०७४ माघ ७ भित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई थियो, त्यो पूरा भई नेपालमा सङ्क्रमण कालको अन्त्य भएको बताउनुभयो ।
उपराष्ट्रपतिको निर्वाचन चैतमा
मङ्गलबार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आयोगको बुधबार बस्ने बैठकले उपराष्ट्रपतिको निर्वाचनको मिति र कार्यक्रम तय गर्ने जानकारी दिनुभयो ।
डा. यादवले कानुनी दायराभित्र रहेर सकभर छोटो अवधिमा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने तयारीमा आयोग लागेको छ, भन्नुभयो । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको सात दिनभित्र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ । उपराष्ट्रपतिको निर्वाचन यही चैतको दोस्रो साताभित्रै सम्पन्न गर्ने तयारीमा आयोग जुटेको जानकारी प्राप्त भएको छ ।
झण्डै ९८ प्रतिशत मतदान
निर्वाचन आयोगले मङ्गलबार भएको राष्ट्रपति निर्वाचनमा ९७.९५ प्रतिशत मतदान भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
बिहान १० बजेबाट शुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । मतदानमा  संघीय–संसद्का ३२६ सदस्य र प्रदेश सभाका ५३६ गरी कूल जम्मा ८६२ जना (९७.९५ प्रतिशत) सदस्यहरुले मतदान गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds