• ८ वैशाख २०८१, शनिबार

स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी ।

काठमाडौं, माघ ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नु अगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ ।

सोमबार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्नुहुँदै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘सरकार नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी,सेवामूलक र आत्मनिर्भर संस्थाको रूपमा विकास गर्न चाहन्छ । त्यस्तो सबल संस्थाको रूपमा हेर्न चाहन्छौँ । आत्मनिर्भर, प्रतिस्पर्धी संस्था होस् भन्ने चाहना हुन्छ । त्यसैले निगमलाई जहाज आवश्यक छ । आन्तरिक उडानको लागि दुई वटा मात्रै जहाज छ । यसले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न सकेको छैन ।’’

उहाँले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदका लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिनुभयो ।

सचिव अधिकारीले निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न नसकेको बताउनुभयो । उहाँले वाइड बडीले बिजनेस नपाएको भन्दै ३३० को वाइड बडीका लागि नयाँ गन्तव्य पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘‘अन्तर्राष्ट्रिय उडानका लागि न्यारो बडीलाई भ्याइनभ्याई छ । वाइड बडीले बिजनेस पाइरहेको छैन । यस्तो अवस्थामा हामी छौँ । त्यसैले ३३० का लागि नयाँ गन्तव्यको पहिचान गर्ने र त्यहाँ उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको छ । निगमले जहाज खरिद गर्नुभन्दा पहिला बजार व्यवस्थापन, बिजनेसको मोडालिटी तयार गर्नुपर्छ । निगमले व्यवस्थापकीय सुधार पनि गर्न आवश्यक छ ।,’’ उहाँले भन्नुभयो । 

सचिव अधिकारीले सरकारले नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी, सेवामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न चाहेको बताउनुभयो ।