• १५ चैत २०८०, बिहिबार

बोलेरो जिप पल्टिँदा एकको मृत्यु, सात घाइते

blog

मंगला गाउँपालिका–२, स्थित काफलचौरमा भएको बोलेरो जीप दुर्घटना । तस्बिर : विपिन आचार्य

साधन घर्ती

म्याग्दी (दरबाङ), माघ ९ गते । म्याग्दीको मंगला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सोमबार बिहान ११ः२० बजेको समयमा थाइबाङबाट बेनीतर्फ आउनेक्रममा रोकेर राखेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप पल्टिँदा जिपमा सवार मंगला गाउँपालिका –१, की ५० वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो । 

घाइते गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याइए पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । रोकेर राखेर सामान राख्नेक्रममा बेलामा जिप आफै करिब एक मिटर गुडेर सडकमा पल्टिएको थियो ।

जिपमा चालकसहित ९ जना सवार थिए । उहाँका अनुसार घाइते मंगला २ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी केसी र ५ वर्षीय रिवान केसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । चालक न्युप्रसाद पुर्जालाई नियन्त्रणमा लिएर छानबिन थालिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

मंगला गाउँपालिका –१, की १५ वर्षीया बबिना परियार बेनी अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज हुनुभएको छ । मंगला –२, की २२ वर्षीया विपना कार्की, मंगला–१, का ३८ वर्षीय तेकबहादुर गर्बुजा, मंगला–२, का ५० वर्षीया भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । मंगला गाउँपालिका र बाबियाचौरका राजु पाण्डेको गाडीमा घाइतेलाई बेनी अस्पताल ल्याइएको थियो । जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।