• १४ वैशाख २०८१, शुक्रबार

साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यकः अध्यक्ष गोल्छा

blog

ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंङ्ले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ ९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

उहाँले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरूको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरूले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योग दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योग दर्ता भएकाले यो सङ्ख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

‘‘साना उद्यमीलाई कर्जा पाउन कठिन भएको छ । सहज बनाउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ । गत आर्थिक वर्षमा ३०९ ठूला उद्योग दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योग दर्ता भएका छन्, यो सङ्ख्या अझै बढ्नसक्छ, यिनको उत्पादन क्षमता अझै बढ्नसक्छ । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘महँगा ब्याजले लगानी विस्तार त परको कुरा भयो, उद्यम टिकाउन चुनौती भएको छ । यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो । मन्त्रीज्यूको यसअघिको बजेटमा पनि र मौद्रिक नीतिमा पनि यो विषय समेटिएको छ तर कार्यविधि अहिलेसम्म पनि आएको छैन ।’’

अध्यक्ष गोल्छाले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको बताउनु भयो । बैङ्कहरूको महँगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउन चुनौती भइरहेको उहाँको भनाइ छ ।

साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष गोल्छाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गर्नुभयो । करिब ५० प्रतिशत उद्योग दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

कतिपय उद्योग झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको छ । अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नति गर्ने सम्भावना प्रशस्त रहेको बताउनुभयो ।

‘‘ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्नुपर्ने देखिएको छ । साना उद्योगहरूको पहुँच विस्तार गर्न आवश्यक छ । हामीले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न सकिरहेका छैनौँ । करिब ५० प्रतिशत उद्योग व्यवसाय दर्ता नभएका छन्, त्यसमा १७ लाखले रोजगारी पाएका छन्, यी उद्योगको वास्तविक पहिचान अब स्थापित गर्नुपर्छ ।,’’ अध्यक्ष गोल्छाले भन्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘‘दर्ता हुँदा सरकार झमेलामा पर्ने डरले पनि धेरै उद्योगहरू दर्ता हुन चाहेका छैनन्, कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी सायद नेपालमा मात्रै होला । यसरी कसरी उद्यमशीलताको विकास हुन्छ । आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नति गर्ने सम्भावना प्रशस्त देखिएको छ । तिनै तहका उद्योगहरूले लघु,साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था हुनुपर्छ ।’’ अध्यक्ष गोल्छाले एसएमइ क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिबद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको बताउनुभयो ।