• ८ वैशाख २०८१, शनिबार

जनकपुर घुमाइदिने पर्यटक गाइडको कमी

blog

जनकपुरधाममा अवस्थित जानकी मन्दिर । तस्बिर – विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ ९ गते । मिथिलाको प्राचीन राजधानी तथा मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । नेपाल राष्ट्र बैंक जनकपुरधाम शाखाले प्रकाशित गरेको प्रतिवेदनले यसको पुष्टि गरेको छ । 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच हजार ८४७ जना बाह्य पर्यटक आएका थिए । चालू आर्थिक वर्षको छ महिनामा २० हजार ७३३ जना पर्यटक आएका छन् । पर्यटकमध्ये भारतबाट ९०.६९, चीनबाट १.८३ र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ७.४८ प्रतिशत छ । 

पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि यहाँ पर्यटक घुमाउने पर्यटक गाइडको कमी छ । जनकपुरधाम र यस वरपर थुप्रै धार्मिक तथा पर्यटन क्षेत्र भए पनि उचित जानकारीको अभावमा पर्यटक जानकी मन्दिरको मात्रै दर्शन गरी फर्कने गरेको स्थानीय युवा बलराम साह बताउँछन् ।

जनकपुरधाममा जानकी मन्दिरबाहेक राममन्दिर, विवाहमण्डप, स्वर्गद्वारी भूतनाथ मन्दिर, गङ्गा आरतीलगायत घुम्ने खालका दर्जनौं मठमन्दिर तथा रमणीय स्थान छन् । तर ती स्थानका बारेमा जानकारी उपलब्ध गराउने पर्यटक गाइडको कमी छ ।  


‘कतिपय पर्यटक अटोरिक्सा चालकका भरमा जनकपुरधामका विभिन्न स्थान घुम्ने गरेका छन् । तर व्यावसायिक पर्यटक गाइडको अभावमा सम्बन्धित ठाउँबारे विस्तृत जानकारी प्राप्त गर्न पाउँदैन र अधुरो जानकारी हासिल गरेर फर्कने गरेका छन् । जसले गर्दा यहाँको इतिहास र जीवनशैलीबारे गलत बुझाई पनि प्रवाह हुनसक्ने खतरा छ,’ स्थानीय युवा साहको कथन छ । 

जनकपुरधाममा दुई दर्जनभन्दा बढी टुर्स एण्ड ट्राभल्स कम्पनीहरु छन् । त्यसमध्ये केहीले मात्र पर्यटक गाइडको सेवा उपलब्ध गराउँदै आएका छन् । जनकपुरमा सञ्चालित स्वेन टुर्स एण्ड ट्राभल्स कम्पनीका सञ्चालक रितेश साहका अनुसार जनकपुरमा टुरिस्ट घुमाउने गाइड दुईदेखि चारजनाको हाराहारीमा मात्र छन् ।

सीमित पर्यटक गाइड हुँदा अनुसन्धान तथा घुम्न आउने बाह्य पर्यटकलाई यहाँको वस्तुस्थितिबारे बुझाउन समस्या पर्ने गरेको उहाँले बताउनुहुन्छ । 


जनकपुरधामका पूर्व पर्यटक गाइड तथा अङ्ग्रेजी विषयका प्राध्यापकसमेत रहनुभएका सुदर्शनलाल कर्णले यहाँ पर्यटक गाइडको सङ्ख्या कम हुनु र घुम्न आउन पर्यटकलाई अटोरिक्सा चालकले गाइड गर्नु दुर्भाग्य भएको बताउनुभयो । 

यहाँ पर्यटक त निकै आउँछन् तर ती रिक्सा चालकलाई कहाँ लैजाने कसरी उहाँहरुको सत्कार गर्ने भन्नेबारे थाहा हुँदैन । यसरी पर्यटकलाई घुमाउने रिक्सा चालकले यहाँका ठाउँ चिनाउँदा गलत व्याख्या र अपव्याख्या पनि हुन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

पर्यटक गाइडको कमीलाई दृष्टिगत गर्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) बर्दिवास, महोत्तरीले पर्यटक गाइडको प्रशिक्षण सुरु गर्ने भएको छ । जनकपुरधामलगायत मधेश प्रदेशका ऐतिहासिक स्थान तथा पर्यटन क्षेत्रका बारेमा सही सूचना उपलब्ध गराउने उद्देश्यले पर्यटक गाइड प्रशिक्षण सुरु गर्न लागिएको नाथम कलेजका प्रमुख सिवेन्द्र मल्लिकले बताउनुभयो । 


जनकपुरमा बढी जसो भारतीय पर्यटक आउँछन् । उहाँहरुसँग भाषाको खासै समस्या हुँदैन । तर बाहिरी मुलुकबाट आउने पर्यटकलाई भाषाको समस्या हुन्छ । पश्चिमा देशबाट आउने पर्यटकहरुलाई उहाँहरुकै भाषामा बुझाउन पर्यटक गाइड उत्पादन गर्न सके मधेश प्रदेशको पर्यटन क्षेत्रमा उल्लेखनीय विकास हुने उहाँले बताउनुभयो । 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले मधेश प्रदेशमा जनकपुरधामका ऐतिहासिक सम्पदाबाहेक पनि सम्भावित पर्यटकीय स्थानको पहिचान गरी पर्यटन प्रवर्धनमा जुटेको बताउनुभयो । यसका लागि पनि पर्यटक गाइडको महत्वपूर्ण भूमिका हुने हुँदा पर्यटक गाइड उत्पादनमा हाम्रो पनि जोड रहेको उहाँले जानकारी दिनुभयो ।