• १६ चैत २०८०, शुक्रबार

बुद्ध एअरसँग माउन्टेन फ्लाइट सम्झौता

नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट शुरू हुँदै

blog

माउन्टेन फ्लाइट सम्झौता पत्रका साथ नाट्टा बाँके र बुद्ध एअरका स्थानीय प्रमुख । तस्विरः सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, माघ ९ गते । नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन पाउने गरी माउन्टेन फ्लाइट माघ १६ गतेबाट शुरु हुने भएको छ । यो उडान शुरु भएसँगै भारतीय र नेपाली धार्मिक पर्यटकहरुले जहाजबाटै सहज रुपमा कैलाश मानसरोवर दर्शन गर्न पाउनेछन् । 

सो माउन्टेन फ्लाइटका लागि नाट्टा बाँके र बुद्ध एअर नेपालगञ्जबीच सम्झौता गरिएको छ । सम्झौता पत्रमा नाट्टा बाँकेका तर्फबाट अध्यक्ष श्रीराम सिग्देल र बुद्ध एअर नेपालगञ्जका तर्फबाट स्टेशन म्यानेजर विनीत शाहले हस्ताक्षर गर्नुभएको छ । 

९० मिनेटको सो माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि अवलोकन गराइनेछ । 

यसअघि भारतीय पर्यटक मानसरोवर पुग्न काठमाडौँ आएपछि नेपालगञ्जमा पुगेर हुम्ला सिमकोटमा पुग्नुपर्छ । त्यहाँबाट हिँड्दै वा हेलिकोप्टर चार्टर गरेर मानसरोवर जानुपर्ने झन्झटिलो बाध्यता थियो । 

नेपालगञ्जमा माघ १४ गतेदेखि शुरु हुन गइरहेको दोस्रो वेष्टर्न ट्राभल मार्टमामा भाग लिन पुगेका ७५ भारतीय टूर अपरेटरहरुलाई कैलाश मानसरोवर दर्शन गराएर सो माउन्टेन फ्लाइटको शुभारम्भ गरिनेछ ।

त्यसपछि हप्तैपिच्छे वा अफर आएको बेलामा नेपालगञ्जबाट जहाजमा कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट जारी राखिनेछ । 

नेपालगञ्जदेखि कैलाश मानसरोवरमा बुद्ध एयरको ७२ सिटे जहाजमार्फत गराइने हवाई दर्शनले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने विश्वास लिएको पर्यटन व्यवसायी दिवाकर खनालले भन्नुभयो ।  

यस्तै, पर्यटन व्यवसायी डा. ओम मिश्रकाअनुसार पर्यटकीय हिसाबले पश्चिम नेपालका रारा, फोक्सुन्डोदेखि मानसरोवर र खप्तड धेरै उत्कृष्ट पर्यटकीय गन्तव्यमा उडानका कारण पर्यटनमा नयाँ आयाम थपिनेछ ।