• १५ चैत २०८०, बिहिबार

४० करोडको लागतमा खुल्यो प्लास्टिक उद्योग

blog

टीकापुर खुलेको प्लास्टिक उद्योग । तस्बिर: एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना 
टीकापुर, माघ ९ गते । कैलालीको जानकी गाउँपालिका वडा नम्बर १ बेलासपुरमा ४० करोडको लागतमा टीकापुर प्लास्टिक उद्योग खुलेको छ । स्थानीय युवाहरू नवराज भट्टराई र मुकेश बमले संयुक्त लगानीमा खुलेको उद्योगले प्लास्टिकको डोरी उत्पादन गरेर बजारमा पठाएको छ । 
उद्योगले प्लास्टिकका दुई एफएमदेखि ३६ एफएमसम्मका २१ प्रकारका प्लास्टिकका डोरी उत्पादन सुरु गरी बजारमा पठाउन थालेको छ । साथै प्लास्टिकका बोरामा छ वटा रङसहितको छपाइ, सिलाइ र कटिङ गरेर माग अनुसार उपलब्ध गराउन थालेको छ । उद्योगले प्रतिघण्टा १५० किलोका दरले दैनिक साढे तीन टन डोरी र दैनिक तीन टन बोरा उत्पादन भइरहेको उद्योगका सञ्चालक नवराज भट्टराई बताउनुहुन्छ । २४ सै घण्टा चल्ने उद्योगमा उत्पादनतर्फ १७ जना भारतीय र २३ जना नेपालीले काम गरिरहेका छन् । चार बिघा जमिनमा खुलेको उद्योगमा जर्मनीमा निर्मित उपकरणहरू जडान भएका छन् । 
उद्योगमा डोरी बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारतका रिलाइन्स, ओपल र इन्डियन आलयबाट आइरहेको छ भने बोराहरू शिवम र जगदम्बा प्लास्टिक उद्योगबाट ल्याएर लोगो छपाइ र सिलाइ गरेर यस क्षेत्रका अन्य उद्योगलाई उपलब्ध गराउन थालेको छ ।
एक महिनाको अवधिमा उत्पादित डोरी नेपालभित्र नारायणघाट काठमाडौ विराटनगर र भारतको सिलगुडीसम्म पठाइसकेको र केही दिनमा भारतको उत्तराखण्ड र हरियाणा पठाउने तयारी भइरहेको छ ।
उद्योगले सुतली (पातलो डोरी) पनि उत्पादन थालेको छ । वीरगन्ज र बुटवलबाट प्रशोधन गरी पठाएको दाना प्रयोग गरी सुतली बनाइरहेको छ । उद्योगले यसै वर्ष प्लास्टिकलाई प्रशोधन गर्ने तयारी गरिरहेको छ । उद्योगले नै प्लास्टिक प्रशोधन गरेमा स्थानीय तहमा प्रयोग भइ सकेपछिको प्लास्टिक प्रयोगमा आउने र प्रदूषण घट्ने उद्योगीको भनाइ छ । 
टीकापुर प्लास्टिक उद्योगमा निर्मित वस्तुहरू यसअघि बजारमा उपलब्धमध्ये गुणस्तरीय भएको व्यापारीले बताएका छन् । १७ वर्षदेखि प्लास्टिकको व्यापार गरिरहनुभएका अवसर प्लास्टिक हाउस टीकापुरका सञ्चालक अमर चौधरी नेपालमा यो गुणस्तरको सामान यसअघि बजारमा नआएको र मूल्य पनि तुलनात्मक रूपमा सस्तो भएकाले उपभोक्ताले रुचाएको बताउनुहुन्छ । यस्तै बीएम फुड्स टीकापुरका सञ्चालक विजय न्यौपाने बोरामा डिजिटल छपाइ पाइएको र यसअघि बाहिरबाट छापेर पाइने भन्दा सस्तो पर्न गएको बताउनुहुन्छ । नेपालभित्र र नेपालबाहिर खुला बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य रहेकाले उत्पादित सामानको गुणस्तर राम्रो हुने उद्योगीको भनाइ छ ।